१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रतिष्ठानले पूर्णता नपाउँदा प्राज्ञिक काम प्रभावित

sarusaru
१८ मंसिर २०७५, मंगलवार ०९:३२

काठमाडौँ। मुलुुकको महत्वपूर्ण प्राज्ञिक निकाय नेपाल प्रज्ञा-प्रतिष्ठान तीन महीनादेखि पूर्ण नहुँदा वार्षिक योजना र अनुसन्धानका काम प्रभावित भएको छ।

प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले पदाधिकारी रिक्त भएको एक महीनापछि गत असोज २१ मा कुलपति र सदस्य सचिवको नियुक्ति गरे पनि उपकुलपतिलगायत प्राज्ञसभा सदस्य, प्राज्ञ परिषद् सदस्य र प्रतिष्ठानको सेवा आयोग रिक्त छ। कुलपतिमा पुनः गङ्गाप्रसाद उप्रेती र सदस्य सचिवमा जगत्प्रसाद उपाध्यायलाई नियुक्तिपछि दैनिक प्रशासनिकबाहेक नीतिगत काम भएको छैन। ‘एकेडेमी’ को प्राज्ञ सदस्य बस्ने कार्यकक्ष सरसफाइ र रङरोगन गरी चिटिक्क बनाइए पनि तीन महीनादेखि रिक्त हुँदा आफूहरुले पनि पर्याप्त काम नपाएको कर्मचारी बताउँछन्।

प्रतिष्ठानको कार्यकारी निकाय प्राज्ञ परिषद्लाई प्राज्ञसभाका निर्णय कार्यान्वयन गर्ने, सभाद्वारा दिइएका निर्देशन पालन गर्ने, गराउने तथा प्रतिष्ठानको वार्षिक कार्यक्रम तथा बजेटको सञ्चालनको जिम्मेवारी छ। पैँतीस सदस्यीय हुने प्राज्ञसभा प्रतिष्ठानको सर्वोच्च निकाय मानिन्छ। यसले ११ सदस्यीय प्राज्ञ परिषद्लाई मार्गदर्शन र निर्देशन दिँदै वार्षिक नीति योजना तथा कार्यक्रम स्वीकृत गर्छ। यस्तै विद्वत्वृत्ति, सम्मान, प्रज्ञामानार्थ–सदस्यता तथा आजीवन–सदस्यता प्रदान, उपयुक्त व्यक्ति वा संस्थालाई कदर सम्मान वा पुरस्कारको व्यवस्था गर्ने तथा आवश्यक नियम बनाउने काम प्राज्ञ सभाले गर्छ।

प्रतिष्ठानको अघिल्लो नेतृत्वले गत भदौ १२ मा गरेको ३३ औँ प्राज्ञसभाको बैठकले चालू आवका लागि १७ करोडको वार्षिक बजेट पारित गरेको थियो जसमा १२ करोड नेपाल सरकार र पाँच करोड आन्तरिक आयमा राखिएको छ। सदस्य सचिव उपाध्यायले ती बजेट र कार्यक्रम प्राज्ञ परिषद्को निर्णयबाट सम्बन्धित विभागीय जिम्मेवारी दिई त्यहाँबाट सञ्चालन गर्नुपर्ने भएकाले प्राज्ञ सदस्य नहुँदा प्राज्ञिक अनुसन्धानका काम प्रभावित भएको राससलाई बताए। ठोस प्रगति नभए पनि प्रतिष्ठानले संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयलाई औपचारिकताका लागि मात्र प्रथम चौमासिकको विवरण मात्र बुझाएको छ।

प्रतिष्ठानका लेखा शाखा प्रमुख सुमन अधिकारीले विभागीय प्राज्ञले पूर्णता पाएपछि बजेट र कार्यक्रमले गति लिने बताए। प्रतिष्ठानमा भाषा ९मातृभाषा०, कोश, व्याकरण र समाजशास्त्र, संस्कृति, नेपाली भाषा, कोश, व्याकरण, दर्शनशास्त्र, पद्य, अनुवाद, समालोचना र निबन्ध, साहित्य ९मातृभाषा०, गद्य र आख्यान तथा बालसाहित्य र लोकवार्ता गरी ११ विभाग छन्।

पदबहालीका क्रममा कुलपति उप्रेतीले आदिकवि भानुभक्तदेखि अहिलेसम्मका स्थापित लेखक तथा स्रष्टाको जीवनी, इतिहास, उनीहरुले प्रयोग गर्ने सामग्रीलगायत वस्तु सङ्कलन गरी सङ्ग्रहालय बनाइने तथा चीन र दक्षिण एशिया साहित्य मञ्चको दोस्रो सम्मेलन गर्ने घोषणा गरे पनि त्यसबारेको योजना पारित हुन सकेको छैन। प्रतिष्ठानले पुस्तकालयलाई अत्याधुनिक बनाई विद्युतीय पुस्तकालय सञ्चालन गर्ने र भूकम्पबाट जीर्ण भवनको पुनःनिर्माण गर्ने योजना पनि लिएको छ।

नेपाल सरकारले चालू आवको बजेट वक्तव्यमा प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठान र ललितकला प्रज्ञा–प्रतिष्ठानलाई एकापसमा गाभी एउटै बनाइने उल्लेख गरे पनि उक्त घोषणा तयारीविना गरिएकाले तत्काललाई पूर्ववत् प्रतिष्ठान रहनेछन् तर अन्य दुई प्रतिष्ठानमा कुलपतिलगायत सदस्यहरु नियुक्ति हुन बाँकी छ। तीन वटै प्रतिष्ठानमा गत भदौ १९ गते पद रिक्त भएको थियो।

विसं २०६३ अघि कमलादीस्थित प्रतिष्ठानले तीन वटै क्षेत्रको प्राज्ञिक कार्यको नेतृत्व गर्दै आएकामा पछिल्लो जनान्दोलनको भावना र विधागत मान्यतालाई सम्मान गर्दै २०६४ मा अलग अलग ऐनबाट तीन प्रतिष्ठान बनाइएको थियो।

अलग अलग प्रतिष्ठान भए पनि कार्यक्षेत्र दोहोरिएको, भौतिक पूर्वाधार र जनशक्तिको अभाव भएको तथा सोचेजस्तो काम अघि नबढेको मात्र नभई आपसी विवादसमेत भएका कारण पुनःगाभ्ने राय पनि आएको थियो।

नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न, राष्ट्रका विद्वान् एवं प्रतिभाको सम्मान गर्न, सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सर्वाङ्गीण सहभागिता जुटाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्न स्थापित विसं २०१४ मा प्रतिष्ठानको स्थापना भएको हो। तत्कालीन सरकारबाट ‘नेपाल एकेडेमी ऐन २०१४’ पारित गरी सोही ऐनअनुसार नेपाली साहित्य, कला एकेडेमीका नाममा सो संस्था खडा भएको थियो। प्रतिष्ठान २०३१ मा पुनःअर्को ऐनद्वारा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा परिणत भएको थियो।

मर्यादाक्रममा असन्तोष

प्रतिष्ठानको कुलपतिलगायत पदाधिकारीको मर्यादाक्रम तल पारिएकामा प्रतिष्ठानले प्रधानमन्त्री एवं प्रमुख संरक्षक ओलीलाई चाँडै लिखित ध्यानाकार्षण गराउने तयारी गरेको छ। कुलपतिको मर्यादाक्रम राज्य मन्त्रिसरह रहेकामा अघिल्लो सरकारले जारी गरेको नयाँ मर्यादाक्रममा मुख्यसचिवसरह (नवौँ) पारिएको थियो।
रासस