१६ चैत्र २०८०, शुक्रबार
Follow Us

औषधि पसलमै भेटियो लागुऔषध

sarusaru
१८ मंसिर २०७५, मंगलवार ०९:४४

बिर्तामोड : झापाको अर्जुनधारा नगरपालिका क्षेत्रका औषधि पसलहरुमा प्रतिबन्धित तथा अवैध औषधि खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ ।

औषधि विभागमा दर्ता नै नभएका र लागुऔषधको रुपमा प्रयोग गर्ने गरेका ती औषधि खुलेआम रुपमा बिक्री वितरण भइरहेको भेटिएको हो । सोमबार अनुगमन टोलीले अनुगमन गर्ने क्रममा अर्जुनधारा नगरपालिका क्षेत्रका औषधि पसलमा मेडासलिक स्किन साइन, इलोसन इएचटी नामक नेपालमा प्रतिबन्धित औषधि भेटेको हो । त्यस्ता औषधि अनुगमन टोलीले जफत पनि गरेको छ ।

बिर्तामोड र भद्रपुरमा व्यवसाय गर्दै आएका धर्म साहबाट त्यस्ता औषधि आयात हुने गरेको अनुगमनको क्रममा खुलेको नगरपालिकाका स्वास्थ्य संयोजक मुकुन्द बस्नेतले बताए ।

नगरपालिकाले सोमबार अर्जुनधारा नगरपालिकाको खुदुनाबारी बजार क्षेत्रका औषधि पसल सहित विभिन्न ४२ वटा पसलमा अनुगमन गरेको थियो । चाडपर्वको समयमा मात्र अनुगमन गर्ने र अन्य समयमा छाडा छोडिदिँदा उपभोक्ता ठगिने गरेको गुनासो आएपछि नगरपालिकाको अनुगमन समितिले अनुगमन गरेको हो ।
अन्नपूर्ण पोष्ट