७ बैशाख २०८१, शुक्रबार
Follow Us

ग्लामर दिन संकोच लाग्दैन

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०७५, मंगलवार ११:३२

सिर्जना तिवारी, नर्स/मोडल
चितवन भरतपुर अस्पतालकी नर्स सिर्जना तिवारी हिजोआज मोडलिङ क्षेत्रमा रमाउन थालेकी छन् । केही गीत र विज्ञापनमा अभियन गरेपछि उनलाई चलचित्रमा आउन सामाजिक दबाब आइसकेको छ । पेसा र व्यवसायलाई एकै साथ अघि बढाउने सोच बनाएकी सिर्जना नेपालीको सेवा गर्नकै लागि नर्स पढेको बताउँछिन् । कला क्षेत्रबाट अलग नभई आगामी दिनमा अध्ययनलाई अझ माथि लैजाँदै विरामीप्रति समर्पित भएर सेवा गर्ने योजना उनको छ । स्वास्थ्य पेसा, कला क्षेत्रको अनुभव र भावी योजनाबारे सिर्जनासँग कुमार राउतले गरेको कुराकानी :

० तपाईं मोडल कि नर्स ?
– दुवै हुँ, पेसाले म सरकारी अस्पतालको नर्स हुँ । मोडलिङमा पनि म व्यावसायिक बन्दैछु ।

० पेसा र व्यवसायलाई समय दिन सकिन्छ ?
– अहिलेसम्म टाइम मिलाएर काम गरिरहेको छु । यसका लागि अहिलेसम्म सबैको साथ र सहयोग पाइरहेको छु ।

० केको मोडल हो तपाईं ?
– केही गीतहरूमा अभियन गरेकी छु, त्यसबाहेक विज्ञापन खेलेकी छु । केही राम्रा कम्पनीको विज्ञापन खेल्न अफर आएका छन् ।

० पेसाको कार्यक्षेत्र कहाँ हो ?
– चितवनको भरतपुर अस्पतालमा कार्यरत छु ।

० मोडलिङका लागि समय पाइन्छ ?
– अस्पतालजस्तो संवेदनशील क्षेत्रमा काम गर्छु । यद्यपि टिमवर्क हो, अभियनको अफर आयो भने इन्चार्जले मलाई बिदा दिनुहुन्छ ।

० कुन काम सजिलो ?
– काम सजिलो अप्ठ्यारो भन्ने हुँदैन, कामबाट आनन्द लिन सक्यो भने त्योभन्दा सजिलो अरु केही हुँदैन ।

० नर्स कसरी बनियो ?
– मेरो पारिवारिक पृष्ठभूमि मेडिकल क्षेत्रसँग जोडिन्छ । यद्यपि मेरा बुवा शिक्षक हुनुहुन्छ, उहाँको इच्छा छोरीलाई नर्स बनाउने थियो ।

० मेडिकल क्षेत्रमा को–को हुनुहुन्छ ?
– अंकल आन्टी डाक्टर हुनुहुन्छ । फुपू दिदीहरू नर्स हुनुहुन्छ । बुवा पनि हाम्रो परिवारमा एकजना मेडिकल क्षेत्रमा होस् भन्ने चाहनुहुन्थ्यो ।

० अरु दिदीबहिनीले पढेनन् ?
– एउटा भाइ छ, ऊ व्यवस्थापनको विद्यार्थी हो ।

० पढ्न कठिन होला नि ?
– सजिलो त के पो हुन्छ ? मेहनत र लगनशील भइयो भने जुनसुकै कठिनाइ सजिलै पार गर्न सकिन्छ ।

० नर्स त प्रायः विदेश जान्छन् नि ?
– अहिलेको अवस्थालाई हेर्दा त्यस्तो देखिन्छ । तर मलाई विदेश जान मन पर्दैन । आफ्नै देशको सेवा गर्न नर्स पढेकी हुँ । म नेपालमै विरामीको सेवा गर्छु ।

० जागिरमा पनि प्रतिस्पर्धा हुन्छ होला नि ?
– हुन्छ, म पनि प्रतिस्पर्धाबाटै छानिएकी हुँ । लगभग दुई हजार प्रतिस्पर्धीबाट छनोट भएकी हुँ । छात्रावृत्ति पाएर पढेकी हुँ, बीएन अध्ययनका लागि पनि छात्रावृत्तिमा नाम निकालेकी छु । तर तत्काल बीएन पढ्ने मेरो इच्छा छैन ।

० थातथलो कहाँ हो नि ?
– पुर्खेली घर पर्वत हो, चितवन माइगे्रट भइयो, अहिले काठमाडौं कपनमा पनि घर छ ।

० कार्यक्षेत्रमा महिलाप्रति हुने व्यवहार ?
– विभेद र दुव्र्यवहार अहिलेसम्म थाहा छैन । विरामीको सेवा गर्ने हो, त्यसका लागि डाक्टरसहितको एउटा युनिट हुन्छ । समूहमा काम गर्दा सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ, त्यसमा विभेद र दुव्र्यवहारको कुरै आउँदैन ।

० सरकारी अस्पताल कस्ता विरामी आउँछन् ?
– भरतपुर अस्पतालको कुरा गर्ने हो भने विशेषः कम आयस्तर भएका र पिछडिएका वर्गहरू उपचार सुविधा खोज्छन् । विशेषतः चेपाङलगायत आर्थिक अवस्था कमजोर भएका मानिसहरू उपचारका लागि आउँछन् ।

० नर्सले पनि कुनै रोग विशेषलाई मात्र सेवा दिनुपर्छ ?
– डाक्टरको जस्तो नर्सले रोग विशेष विशेषज्ञता हासिल गरेको हुँदैन । उनीहरूले रोगीलाई सेवा दिनुपर्छ । म चाहिँ अहिले अर्थेपेडिक युनिटमा कार्यरत छु ।

० नर्सले विरामीका लागि नाचगान गर्नुपर्ने कुरा चर्चामा छ नि ?
– हो, त्यो चाहिँ साइकेटिक विरामीका लागि हो । गीत, नाच, भजनकीर्तिनलगायतका सबै काम गर्नुपर्छ । गार्डलाई बोलाएर मादल बजाउन लगाउनुपर्छ । जसरी हुन्छ उनीहरूलाई खुसी बनाउनुपर्छ ।

० कस्तो गीतमा मोडलिङ गर्नुभएको छ ?
– ज्वाला म्युजिकले बजारमा ल्याएको ‘हैरानी’ लोकपप टाइपको गीतमा अभियन गरेकी छु । त्यसबाहेक अन्य गीतहरूमा पनि अभिनय गरेकी छु ।

० फिल्म खेल्नु हुन्न ?
– फिल्म खेल्न अफर चाहिँ आएको हो, तर समय दिन सकिँदैन होला । फिल्मका लागि धेरै समय दिनुपर्छ, पेसा छोड्न मन लाग्दैन । यो व्यवसायमा निर्धारित समयमा केही काम हुँदो रहेनछ भन्ने अनुभव गरें ।

० समयमा काम हुँदैन भन्न खोज्नुभएको ?
– समयलाई खासै महत्व दिएको पाइन । ६ बजे सुटिङ भनियो भने १२ सुरु हुन्छ । यसमा एकजनाको मात्र दोष देख्दिनँ । युनिटले काम गर्ने हो, केही कुरा व्यवस्थित नभएपछि समय त लाग्ने नै भयो ।

० पेसाकर्मीलाई ग्ल्यामर सुहाउँछ ?
– ग्ल्यामर दिन मलाई कुनै संकोच लाग्दैन ।

० विवाह गर्नुभयो ?
– भर्खर २३ वर्षमा हिँड्दैछु । पढाइ अझै अघि बढाउनु छ, त्यसैले विवाहको सोच बनाएकी छैन ।

० विवाहले करिअर अवरोध गर्छ ?
– केही नभए पनि विवाह गरेर अर्काको घरमा गइसकेपछि आफूले चाहेजस्तो गर्न सकिँदैन कि भन्ने हो ।

० रिलेसनमा हुनुहुन्छ ?
– छु, यस विषयमा थप केही नभनौं ।

० कहिले विवाह गर्दै हुनुहुन्छ ?
– पहिला बीएनको अध्ययन सक्छु, मोडलिङ क्षेत्रमा पनि काम गर्छु, त्यसपछि विवाहबारे सोचौंला ।

० ग्ल्यामर क्षेत्र पनि उहाँको रोजाइ हो ?
– रोजाइभन्दा पनि पे्ररित गर्नुहुन्छ । चलचित्रमा पनि आउनुपर्छ भन्नुहुन्छ ।

० चलचित्र क्षेत्रबारे तपाईंको टिप्पणी ?
– इच्छा देखाएर मात्र हुँदैन, ट्यालेन्ट पनि हुनुपर्छ । फिजिकल फिटनेस भएर मात्र अभियन क्षेत्रमा स्थापित होइदैन । पैसा फालेर मनको रहर पूरा गर्ने धेरै भेटियो, त्यसले नेपाली कला क्षेत्रलाई कुनै योगदान दिन सक्दैन ।

० तपाईंको आइडल कलाकार ?
– प्रियंका कार्की, उनीसँग फिटनेस र ट्यालेन्सी दुवै छ ।