तेह्रथुम । लालीगुराँस नगरपालिका–८ का मनकुमार लिम्बूले फेदाप गाउँपालिका–५ की चन्द्रा लिम्बूसँग ०६८ सालमा विवाह गरे । त्यतिबेला चन्द्रा भर्खर १५ वर्ष र मनकुमार १७ वर्षका मात्रै थिए । विवाह पछिका तीन वर्षसम्म त उनीहरुको सम्बन्ध ठीकै थियो ।

त्यसपछि शुरु भएको बेमेलले उनीहरुलाई सँगै बस्न नसक्ने अवस्थामा पु-यायो । चन्द्राको उजुरीपछि जिल्ला अदालतले २१ फागुन, ०७४ मा उनीहरुको सम्बन्धविच्छेदको फैसला ग-यो । कलिलैमा बिहे गरेका २१ वर्षीया चन्द्रा र २३ वर्षीय मनकुमार अहिले अलग–अलग छन् ।

चन्द्राको जस्तै कथा छ, धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ का २३ वर्षीया पासाङ शेर्पाको पनि । उनले पनि पढ्दै गर्दा १५ वर्षको उमेरमै तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–४ का नवीन शेर्पासँग ०६७ सालमा विवाह गरेकी थिइन् तर समय सधैँ एकनाश रहेनँ । विवाह अघि गरेका वाचा बिहेपछि रहेनन् । अन्ततः उनीहरुको पनि २ फागुन, २०७४ मा जिल्ला अदालत तेह्रथुमबाटै सम्बन्धविच्छेदको फैसला भयो ।

धनकुटाकै महालक्ष्मी नगरपालिका–५ की बबिता बस्नेतले पनि १७ वर्षको उमेरमा तेह्रथुमको लालीगुराँस नगरपालिका–१ का युवराज बस्नेतसँग ०७२ सालमा बिहे गरिन् तर उनीहरुको पनि सम्बन्ध धेरै समयसम्म टिक्न सकेन । जिल्ला अदालतले १० माघ २०७४ मा उनीहरुको सम्बन्धविच्छेदको फैसला गरेको थियो ।
जिल्लामा विद्यालय र क्याम्पस पढ्दै गरेका युवा युवतीले विवाह गर्ने उमेर नभई भागेर प्रेम विवाह गर्ने र पछि बिहे गर्ने उमेर हुँदै गर्दा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या उच्च रहेको पाइएको छ । जिल्ला अदालतमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका मुद्दाको सङ्ख्या बढ्दै गएको र यसरी मुद्दा गर्ने महिला र पुरुषको उमेर १८ देखि ३० वर्ष छ ।

जिल्ला अदालतको तथ्याङ्कअनुसार पछिल्ला चार वर्षमा १२३ जोडीले सम्बन्धविच्छेद गरेकामा आव २०७४÷०७५ मा मात्रै जिल्लाका ४१ जोडी पुगेका छन् । तीमध्ये आधाभन्दा बढी जोडीको विवाह कम उमेरमै भएको र पछि सम्बन्धमा दरार आएको पाइएको छ ।

सो समय सम्बन्धविच्छेद गर्ने ४१ जोडीमध्ये १८–२५ वर्षका पुरुष पाँच र महिला ११ रहेका श्रेष्तेदार अम्बिकाप्रसाद दाहालले जानकारी दिनुभयो । २५–३० उमेर समूहका छ महिला र पुरुष सात छन् । यस्तै ३१–४० वर्ष उमेर समूहका महिला ११ र पुरुष १२ छन् ।

सम्बन्धविच्छेद गर्ने जोडीमध्ये ४० माथिका महिला दुई र पुरुष पाँच रहेका जानकारी दिँदै श्रेष्तेदार दाहालले भन्नुभयो, “सम्बन्धविच्छेदका मुद्दा यसअघि महिलाले मात्रै दर्ता गर्न पाउँथे, पछिल्लो वर्ष फैसला भएका ४१ जोडीमध्ये १८ देखि ३० वर्षका महिलाको सङ्ख्या १७ छ ।”

उहाँले कानूनले सम्बन्धविच्छेदका लागि दर्ता भएका मुद्दामा बाल विवाह ठहर नगरे पनि सम्बन्धविच्छेदका लागि आउनेमध्ये अधिकांश कलिलैमा बिहे गर्ने, भागेर प्रेम विवाह गर्ने र सामाजिक सञ्जालमार्फत चिनजान भएर लोभ लालचमा बिहे गर्ने बढी भएको सुनाउनुभयो । “सम्बन्धविच्छेदका लागि आउने अधिकांशको प्रेम विवाह भएको पाइन्छ”, श्रेष्तेदार दाहालले भन्नुभयो, “त्यसमध्ये पनि फोन संवाद, सामाजिक सञ्जाल र कम चिनजानकै आधारमा भएका विवाह बढी हुन्छन् ।”

अदालतको तथ्याङ्कमा उल्लेख भएअनुसार आव २०७३-०७४ मा पनि १९ जोडीको सम्बन्धविच्छेद भएको थियो । जिल्लामा आव २०७२-०७३ मा ३६ जनाले सम्बन्धविच्छेद गराएका थिए भने आव २०७१-०७२ मा २९ विवाहित जोडीले सम्बन्धविच्छेद गराएका थिए । जिल्ला अदालतमा पछिल्ला वर्षमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा नै सम्बन्धविच्छेदका रहेका छन् ।

साधारणतया श्रीमान् श्रीमतीबीच हुने कुटपिट, झै–झगडा, यौन हिंसालगायत घरेलु हिंसाका विषयलाई लिएर महिलाले अंशसहित सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने क्रम बढेको श्रेष्तेदार दाहालले बताउनुभयो ।

सूचना प्रविधिको दुरुपयोग, पारिवारिक बेमेल, एक–अर्कामा विश्वासको कमी र पश्चिमा समाजको प्रभावले पनि दाम्पत्य जीवनलाई सम्बन्धविच्छेदको अवस्थामा पु-याउने गरेको छ । विद्यालय तहमा पढ्दा–पढ्दै विवाह गर्ने र जिम्मेवारी बढ्दै जाँदा सम्बन्धमा खटपट सिर्जना भई बिच्छेद हुने गरेको अधिवक्ता नारायण लुइँटेलको भनाइ थियो ।
कानूनले बाल विवाहलाई अपराध माने पनि युवा युवतीले परिवारलाई थाहै नदिई १५–१७ वर्षको उमेरमै विवाह गर्ने गरेका हुन् ।

त्यस्ता विवाहविरुद्ध अहिलेसम्म जिल्लामा कुनै उजुरीसमेत परेको छैन । अभिभावककै सहमतिमा हुने विवाहमा समेत उजुरी नपर्ने गरेकाले प्रहरी र अदालतको तथ्याङ्कमा बाल विवाह नदेखिए पनि गाउँ समाजमा बाल विवाह छ्याप्छ्याप्ती भएको पाइन्छ ।

हालै कार्यान्वयनमा आएको मुलुकी संहिताले विवाह गर्ने उमेर अझै बढाएर महिला पुरुष दुवैलाई २० वर्षको हद तोकेको छ तर अघिल्लो कानूनी व्यवस्थासमेत कार्यान्वयन नभएको अवस्थामा अहिलेको कानूनी व्यवस्था हुबहु कार्यान्वयन हुन कठिन देखिएको छ ।

कानूनको कार्यान्वयनमा भन्दा बढी पहिले कानूनी सचेतना वृद्धिका लागि सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी रहेको सरोकारवाला बताउँछन् । सानै उमेरमा आमा बन्दा शारीरिक रुपमा कमजोर बन्ने र स्वास्थ्यमा दीर्घकालीन असर पर्नाका साथै शारीरिक परिपक्वता नभई किशोरीले शिशु जन्माउँदा शिशुमा कुपोषण र आमाको पाठेघर खस्नेलगायत समस्या देखिने स्वास्थ्यकर्मीको भनाइ छ ।
–प्रकाश धौलाकोटी