१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रहरी सहायक निरीक्षक निलम्बित

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०७५, मंगलवार १३:३२

भद्रपुर । झापाको चारआली प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक उत्तमकुमार कार्की घुस लिएको अभियोगमा सेवाबाट निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रसनी कार्कीले जिल्ला प्रशासन कार्यालयबाट तारेखमा रिहा भएका मेचीनगर नगरपालिका–१३ का यादव भट्टाराईसँग आफूले छुटाइदिएको भन्दै सोमबार रु १५ हजार घुस लिएका थिए ।

इलाका प्रहरी कार्यालय अनारमनीमा भट्टाराईविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको थियो । जिल्ला प्रशासन कार्यालयले रु आठ हजार धरौटीमा भट्टाराईलाई आइतबार रिहा गरेको थियो । घुस लिएको हल्ला फैलिएपछि कार्कीले हिजै सो रकम फिर्ता गरेका थिए ।

घुस लिएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयले प्रसनी कार्कीलाई स्पष्टिकरण सोधेको थियो । प्रारम्भिक छानबिनबाट सो घटनामा प्रसनी कार्कीको सङ्लग्नता देखिएका कारण आजै पदबाट निलम्बन गरी आवश्यक अनुसन्धान कारवाही अघि बढाइएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।