८ बैशाख २०८१, शनिबार
Follow Us

पितृका नाममा आज दीपदान गरिँदै

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७५, बुधबार ०५:२७

काठमाडौं । पशुपतिनाथ लगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवंगत पितृका नाममा दीपदान गरिँदैछ । आज दीपदान गरी भोली बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउने गरिन्छ ।

देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको आज पशुपतिमा भीड लाग्छ ।आफनो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १ सय ८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीको रात भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्छन् ।

भोलीपल्ट धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गर्ने परम्परा रहि आएको छ ।