१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्मला हत्या प्रकरणमा एक व्यक्ति पक्राउ

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७५, बुधबार १४:४६

काठमाडौं । कन्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रहरी टोलीले काठमाडौंबाट २२ वर्षीय युवकलाई पक्राउ गरेको भएपनि उनको बारेमा सबै कुरा गोप्य राखेको छ । त्यसैले गोप्य अनुसन्धानका लागि प्रहरीले पक्राउको पुष्टि समेत गरेको छैन ।

प्रहरीले ती पक्राउ परेका युवकको डीएनए परीक्षणका लागि प्रहरीले नमूना समेत संकलन गरेर नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । उनको दुई दिनमा डीएनए रिपोर्ट आउने र रिपोर्ट नआएसम्म ती युवकलाई प्रहरी हिरासतमै राखिने बताइएको छ । पक्राउ परेका युवकको भूमिका शंकास्पद देखिएको र उनी यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको पाइएको बताइएको छ ।

गत साउन ११ गते उखुबारीमा निर्मला मृत अवस्थामा फेला परेको दिनदेखि ती युवक कन्चनपुरमा देखिएका थिएनन् । लागू औषध र दुव्र्यसनीमा संलग्न रहेका ती युवामाथि प्रहरीले पहिले नै आशंका गरेको थियो । तर परिवारका सदस्यले उनी भारत गएको बताएका थिए । प्रहरीले भारतमा समेत उनको खोजी गरिराखेको थियो । मंगलवार साँझ ती युवा काठमाडौंमा फेला परेपछि सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो ।
‘निर्मलाको हत्या र बलात्कारको घटनामा उनी कुनै न कुनै भूमिकामा संलग्न रहेको आशंका हामीलाई पहिलेदेखि नै थियो,’ प्रहरी स्रोतले भन्यो, ‘परिवारका सदस्यले उनी भारत गएको भनेका थिए । सोहीअनुसार हामीले खोजी पनि गरेका थियौं । मंगलवार साँझ काठमाडौंबाट पक्राउ परेका छन् ।’

तर सीआइबीले भने कसैलाई पनि पक्राउ नगरेको जनाएको छ । ब्यूरोका प्रमुख डीआइजी निरजबहादुर शाहीले निर्मला प्रकरणमा अनुन्सन्धान निरन्तर र गहनरुपमा भइरहेको बताउँदै तर कसैलाई पनि पक्राउ नगरिएको बताएको छ ।

‘हाम्रो टोली काठमाडौँ र कञ्चनपुर दुवै स्थानमा संयुक्तरुपमा अनुसन्धानमा केन्द्रित छ, यसक्रममा आवश्यक सोधपुछ भने भइरहेको छ’, डीआइजी शाहीले अन्नपूर्णसँग भने, ‘निर्मलाका छिमेकी युवक बुधबार पक्राउ परेको भन्ने समाचार गलत हो, हामीले कसैलाई पनि नियन्त्रणमा लिएका छैनौं ।’
कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतले भने यसबारे आफूलाई कुनै जानकारी नरहेको बताए । ‘काठमाडौंको कुरा मलाई जानकारी छैन । हामी घटनाको अनुसन्धानमा गरिरहेका छौं’ एसपी कडायतले भने, ‘हामीले दैनिक रुपमा शंकास्पद व्याक्तिसँग सोधपुछ गरिरहेका छौं । हालसम्म नौ जनाको डीएनए परीक्षण पनि गरेका छौं । अरु केही पनि अनुसन्धानको घेरामा छन् ।’

प्रहरी अनुसन्धानमा स्थानीय र आफन्तकै सहयोग कम भएको अनुसन्धानमा संग्लन अधिकारीको गुनासो छ । कञ्चनपुर प्रहरीले यसअघि गत भदौ ४ गते निर्मलाको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा भीमदत्तनगर–१९ बाँगफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । दिलिपको डीएनए निर्मलाको ‘भेजिनल स्वावसँग’ मेल नखाएपछि उनी थुनामुक्त भएका थिए । पुष्टि नभएकाले प्रहरीले मंगलबार पक्राउ परेका युवकको बारेमा बताउन नखोजेको स्रोतले बतायो ।

निर्मला हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय चक्र बडुलाई पनि पक्राउ गरेको थियो । गत साउन १० गते साथी रोशनी वमको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । निर्मला हत्याको अनुसन्धानमा प्रहरीको टोली सक्रिय छ । तर निष्कर्षमा पुगिहाल्ने र अपराधी किटान गर्ने अवस्थामा भने प्रहरी पुगिसकेको छैन ।