१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्लास्टिक न्यूनीकरण गर्न मृत सागरको आकृति

sarusaru
२० मंसिर २०७५, बिहीबार ०१:४०

काठमाडौँ – प्लास्टिक न्यूनीकरण गर्नुपर्ने उद्देश्यका साथ आज झोलाबाट मृत सागरको आकृति बनाई विश्व कीर्तिमान राख्ने प्रयास गरिएको छ ।

बन तथा वातावरण मन्त्रालय र स्टेम फाउन्डेनले संयुक्तरुपमा आज टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा वातावरणमा प्लास्टिकले पारेको असर न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गराउन झोलाबाट मृत सागरको आकृति बनाइको हो । विभिन्न सङ्घसंस्था तथा विद्यालयका प्रतिनिधिको उपस्थितिमा ८७ हजार २३२ थान प्लास्टिकको झोला आकृतिमा बाँधिएको हो ।
शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्लास्टिकले वातावरणमा परेको असर न्यूनीकरणमा नेपाल सरकार जिम्मेवार रहेको उल्लेख गर्दै युवापुस्ताको अभियानलाई समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका प्रविधि प्रमुख डा रवीन्द्र ढकालले प्लास्टिकबाट डिजेल बनाउने प्रविधि ल्याएसँगै प्लास्टिकमा न्यूनीकरण भएको र प्लास्टिकको पुनः प्रयोगमा सबैलाई जोड दिन आग्रह गर्नुभयो ।

स्टेम फाउण्डेशनका अध्यक्ष सर्जन विसीले पर्यावरण तथा प्रकृतिमा प्लास्टिकको अनावश्यक र अव्यवस्थित प्रयोगले पारेको नकारात्मक असरबारे विश्वको ध्यानाकर्षण गर्दै नेपालीमा सचेतना ल्याउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । विश्व कीर्तिमानका लागि पहिला दाखिला भएको रेकर्डभन्दा १९ हजार २३२ थान प्लास्टिकका झोला बढी बाँधिएको हो । जगदम्बा स्टिल्सले संस्थागत सामाजिक दायित्व बहन गर्दै मृत सागरको आकृति निर्माण गरिदिएको हो ।

विश्व वन्यजन्तु कोषले वन, वातावरण र पर्यावरणका क्षेत्रमा यससँगै विभिन्न कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ । स्टेम फाउण्डेशन नेपालले आवश्यक प्रक्रिया पूरा गरी विश्व कीर्तिमानीका लागि प्रमाण पेश गर्ने जनाइएको छ ।
रासस