११ बैशाख २०८१, मंगलवार
Follow Us

अस्ट्रेलियामा धान्याचल गरेर रु १० लाखको सहयोग

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७३, आईतवार ०५:२६

रत्ननगर । नेपालको सडकपेटीमा कष्टकर जीवनयापन गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभियानमा लागेको मानवसेवा आश्रम चितवनको सेवा विस्तारका लागि अस्टे«लियामा बस्ने नेपालीले धान्याचल लगाएर रकम सङ्कलन गरेका छन् ।

चितवनबाट गोरखा जिल्लामा मानव सेवा आश्रमको शाखा विस्तार गरी असहायको उद्धार गर्र्न सहयोग गर्ने उद्देश्यले गोरखा समाज अस्ट्रेलिया परिवारले धान्याचल लगाई रु १० लाख रकम सङ्कलन गरेको हो ।

सो रकम मानव सेवा आश्रमलाई प्रदान गर्ने निर्णय भएको गोरखा समाज अस्ट्रेलियाका अध्यक्ष ध्रुव पोखरेलले बताउनु भयो ।
सो श्रीमद् भागवत ज्ञान महायज्ञमा कथा वाचन युवावाचक दीनबन्धु पोखरेलले गर्नुभएको थियो । गोरखा जिल्लामा ३० जना असहाय राख्न सकिने क्षमताको आश्रमका लागि अनुमानित लागत रु २४ लाख रहेको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

रु २४ लाखमध्ये १० लाख गोरखा समाज अस्ट्रेलिया परिवारबाट जुटिसकेको सन्दर्भमा बाँकी थप रकम जुटाउने क्रम चलिरहेको अधिकारीको भनाइ छ ।

गोरखा सँगसँगै लमजुङ, वीरगन्ज र ललितपुर जिल्लामा दसैँ तिहारलगत्तै आश्रमको सेवा विस्तार गर्ने तयारी छ । हाल मकवानपुर, चितवन र काठमाडौँमा कार्यालय स्थापना गरी आश्रमले सडकपेटीबाट ४०० जनाको उद्धार गरेको छ भने १०० जनालाई परिवारमा मिलन गराइसकेको छ ।

समाजमा विभिन्न परिस्थितिले लाचार र विवश भई मागेरसमेत खान नसक्ने अशक्त, अनाथ, अपाङ्ग, असहाय एवम् मानसिक सन्तुलन गुमाएर बेवारिसे बनेकाहरुको उद्धारपछि आश्रमले पालन पोषण तथा उपचार गरी परिवारमा पुनर्मिलन गराउँदै आएको छ ।