१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कांग्रेसभित्र विधानको विवाद थप गहिरिँदै

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०७५, बिहीबार १३:११

काठमाडौं । नेपाली कांग्रेसभित्र विधानको विवाद थप गहिरिँदै गएको छ । केन्द्रीय कार्यसमितिको जारी बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यहरु दुई खेमामा विभक्त भएका छन् । सभापति शेरबहादुर देउवा पक्ष पार्टीमा पदाधिकारी थप्ने विषयमा सकारात्मक छैन भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पदाधिकारी थप्नुपर्ने वकालत गरिरहेको छ ।

कतिपय सभापति देउवा पक्षका नेताहरुले सभापतिको अधिकार कटौती गर्ने गरी विधान मस्यौदा भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेका छन् । देउवापक्षीय नेताहरुहरुले सभापतिलाई अधिकारसम्पन्न गराएमात्र पार्टीले सोचेजस्तो परिणाम दिनसक्ने तर्क गरिरहेका छन् । पौडेलपक्षीय नेताहहरुले भने सबै पदाधिकारी निर्वाचित हुनुपर्ने धारणा राखेका छन् ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पदाधिकारी, संसदीय बोर्ड र ८५ प्रतिशत केन्द्रीय सदस्य निवाचित हुनुपर्ने माग गरेका छन् । त्यस्तै, पार्टीका सबै तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्ने, क्रियाशील सदस्यतालाई व्यवस्थित गरिनुपर्ने माग पनि केसीले गरेका छन् ।उनले पार्टीमा एकपछि अर्को गर्दै विवादका विषय बढेको भन्दै विधानका विषयमा तत्काल शीर्ष तहमा सहमति खोज्नुपर्ने बताएका छन् ।

कांग्रेस विधान मस्यौदा समितिबाटै सातओटा विषयमा फरक मत गएकामा अहिले केन्द्रीय सदस्यहरुले बोल्नेक्रममा दर्जनौं त्यस्ता फरक विषय आएका छन् । विधानका विषयमा केन्द्रीय समिति बैठकमा सर्वसम्मति नभए कांग्रेस महासमिति बैठकसमेत अन्योलमा पर्नसक्छ । कांग्रेसले आफ्नो महासमिति बैठक यही मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा गर्ने तयारी गरेको छ ।