१५ चैत्र २०८०, बिहीबार
Follow Us

एन्जेला मर्केलद्वारा पार्टीको नेतृत्व त्याग्ने घोषणा

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७५, शुक्रबार ११:०३

ह्यामबर्ग । जर्मन चान्सलर एन्जेला मर्केलले दुई दशकसम्मको पार्टी नेतृत्वबाट विश्राम लिँदै शुक्रबार पार्टीको नेतृत्व त्याग्ने घोषणा गर्दै हुनुहुन्छ । पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो समयदेखिका उहाँका आलोचकबीच प्रतिस्पर्धा हुँदैछ । यस प्रतिस्पर्धाको नतिजा सन् २०२१ सम्म चान्सलर पदमा रहने वा नरहने भन्ने विषयमा ६४ वर्षीया मर्केलका लागि निर्णायक हुनेछ । उहाँले यसअघि नै सन् २०२१ बाट राजनीतिबाट सन्यास लिने घोषणा गरिसक्नुभएको छ ।

आप्रवासी र शरणार्थीका बारेमा नरम नीति अख्तियार गरेको भनी आलोचनाका साथै सोही कारण पछिल्ला समयमा भइरहेका चुनावमा पराजय भएसँगै मर्केलमाथि क्रिस्चियन डेमोक्रेटिक पार्टी (सीडीयू) छाड्ने दबाब बढेको हो । “१८ वर्षसम्म पार्टीको अध्यक्षता गर्न पाएकामा मलाई गर्व लागेको छ । यो निकै लामो अवधि हो, र यसबीचमा सीडीयूमा धेरै उतारचढाव आएको छ,” ह्यामबर्गमा आयोजित पार्टी भेलाका क्रममा पत्रकारहरुसँग कुरा गर्दै मर्केलले बताउनुभयो ।

“तर हामीले मिलेरै चारवटा चुनाव जित्यौं, र म सन् २०२१ सम्म चान्सलर अवश्य रहनेछु,” उहाँले भन्नुभयो । मर्केलले सन् २००५ देखि जर्मनीको नेतृत्व गरिरहनुभएको छ, र पार्टी एवं देशलाई युरोप र विश्वकै राजनीतिक केन्द्रका रुपमा उभ्याउनुभएको छ । दुईजना मुख्य प्रतिस्पर्धीहरु सीडीयूका उपप्रमुख आन्नीग्रेट क्राम्प–कारेन्बर (एकेके भनेर चिनिने) र कर्पोरेट वकील फ्रेड्रिक मर्जमाथि मर्केलको पदचिन्ह पछ्याउने वा त्याग्ने भन्नेमा विवाद र बहस जारी छ ।

तेस्रो प्रतिस्पर्धीका रुपमा रहेका स्वास्थ्यमन्त्री हेन्स स्पान्ह भने निकै पछि हुनुहुन्छ । उहाँ चान्सलर मर्केलका कटु आलोचक हुनुहुन्छ । उहाँले जर्मनीमा दश लाखभन्दा बढी आप्रवासी र शरणार्थीलाई जर्मनीमा स्वागत गर्ने मर्केलको नीतिमाथि खुलेरै आलोचना गरिरहनुभएको छ । “मर्केल युगको अब अन्त्य हुँदैछ,” राजनीतिक विश्लेषक एवं एकेकेका जीवनी लेखक क्रिस्टिना डन्जले बताउनुभयो ।

ह्यामबर्गमा पार्टीका एक हजार प्रतिनिधि भेला भइसकेका छन् । उनीहरुले पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् । एकेकेमाथि मर्केलको बलियो सहयोग र समर्थन रहेको विश्वास गरिन्छ । मर्केलका निकट मानिएका अर्थमन्त्री पिटर अल्टमायरले पार्टीलाई एकताबद्ध गराउन सक्ने व्यक्ति एकेके नै रहेको भन्दै खुलेर समर्थन गर्नुभएको छ ।

सीडीयूले जुनसुकै धार समाए पनि सत्ता साझेदार दल सोसल डेमोक्र्याट्स (एसपीडी) ले मर्केलको भविष्य निर्धारण गर्नसक्ने अनुमान पनि गरिएको छ । एसपीडी धेरै लामो समयदेखि मर्केलको छायाँमा परेको भन्दै पार्टीभित्रै आलोचना पनि भइरहेको छ ।