१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विश्वभरीका एनआरएन हङकङमा, को-को आइपुगे हङकङ ?

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०७५, शनिबार ०९:३५

हङकङ । विश्वभरीका एनआरएनहरु हङकङ आउने क्रम जारी छ । गत ४ तारिखदेखि हङकङ उत्रिन थालेका विश्वभरीका एनआरएनहरु आउने क्रम अझै जारी रहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) एसिया प्याशेफिकको छैठौ तथा प्रथम क्षेत्रीय महिला सम्मेलनको लागि एनआरएनका आइसिसी पदाधिकारी, क्षेत्रीय स्तरका संयोजक, विभिन्न एनसिसीका अध्यक्ष तथा पदाधिकारी, एसिया प्याशेफिकका विभिन्न देशका प्रतिनिधिहरु आउने क्रम जारी रहेको हो ।

सम्मेलनको आज पहिलो दिन जिष्टेशन र भोली सम्मेलनको उद्घाटन गरिने कार्यक्रम छ । यस पटक सम्मेलनमा सोचेभन्दा धेरै पाहुनाहरु सहभागि हुने देखिएको छ । हङकङबाट भिसा अप्लाई गरेभन्दा बढी नै पाउनाहरु ब्यक्तिगत रुपमासमेत भ्रमणको लागि आइरहनु भएको छ । यसरी आउनेमा यूकेबाट धेरै हुनुहुन्छ । सम्मेलनको अवसर पारेर यहाँ भ्रमण गर्ने एनआरएनको संख्या पनि उत्तिकै देखिएको हो ।

एनआरएन एसिया प्याशेफिक सम्मेलन तयारी समिति सदस्य सचिव एवं एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका) का अनुसार सम्मेलनमा एनआरएन संस्थापकदेखि वर्तमान अध्यक्षसम्म सबै सहभागि हुनुहुनेछ । अहिलेसम्म एनआरएन आइसिसीको तर्फबाट उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी, ओसनीय क्षेत्रका क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन युरोप क्षेत्रका क्षेत्रीय संयोजक शिवकुमार बरुवाल, एनआरएन प्रवक्ता भुषण घिमिरे, एनआरएन युवा संयोजक सुदन थापा, एनआरएन महिला उपाध्यक्ष सपिला राजभण्डारी, महिला फोरम संयोजक रजनी प्रधानलगायत यहाँ आइसक्नु भएको छ भने उपाध्यक्ष कुल आचार्य, आइसीसी सदस्य रामशरण सिमखडा आउँदै हुनुहुन्छ ।

त्यस्तै, सम्मेलनमा प्रमुख अतिथिको रुपमा कृषि मन्त्री चक्रप्राणी खनाल आजै आउँदैहुनुहुन्छ । सम्मेलनमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्व अध्यक्ष, शेष घले, वर्तमान अध्यक्ष भवन भट्ट, जमुना गुरुगंलगायत सहभागि हुनुहुने तय भएको सम्मेलन तयारी सदस्य सचिव टिका गुरुङले जानकारी गराउनुभयो । सम्मेलनमा क्षेत्रीय समितिमा आबद्ध चीनसहितका प्रतिनिधि गरि तीन सयभन्दा बढीको सहभागिता रहनेछ । एसिया प्यासिफिकबाट मुख्यभूमी चीन, हङकङ, मकाउ, दक्षिण कोरिया, जापान, मलेशिया, म्यानमार, फिलिपिन्स, थाइल्यान्ड लगायतका देश तथा अन्य मुलुकहरुबाट सहभागिता रहेको छ ।

एनआरएन एसिया प्याशेफिक संयोजक किरण थापाले सम्मेलनमा विभिन्न क्षेत्रका विषयमा छलफल हुने जानकारी दिनुभयो । विशेष गरि सम्मेलनमा मलेसियाको सवाल, युवा, महिलालगायतका विषयमा छलफल गरिने र अन्य क्षेत्रको सम्मेलनभन्दा विल्कुल फरक हुने संयोजक थापाले बताउनुभयो । परापूर्वकालदेखि एसिया प्याशेफिकमा २० लाख भन्दा बढी नेपाली बसोबास गर्ने भएकाले उनीहरुको समस्या पहिचान गर्नेतर्फ केन्द्रित हुने संयोजक थापाको भनाइ छ ।
किरण बुढाथोकी /हङकङ