६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रेमबहादुरलाई डेराको चिन्ता

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७३, आईतवार १४:०३

काठमाडौं । प्रेमबहादुर सिंह यस्ता नेता हुन्, एक सिट हुँदा पनि उनी पटक–पटक मन्त्री बन्न सफल भएका छन् । कांग्रेस–माओवादी गठबन्धनमा फेरि मन्त्री हुने आशामा बसेका सिंहले मैतीदेवीको डेरा अझै नछाडेपछि उनको चर्चा सुरु भएको छ ।
केपी ओली नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइमन्त्री बनेका सिंहलाई सोही मन्त्रालय दिने बचन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि दिएको बुझिएको छ । सोही कारण सिंहले मैतीदेवीको नयाँ डेरा नछाडेको बताइएको छ । ओली नेतृत्वको सरकारमा रहनुअघि सिंह शान्तिनगरमा बस्थे, मन्त्री भएपछि सो घर छाडेर ३५ हजार भाडा तिरेर रातारात मैतीदेवी सरे । तर, सरेको केही महिनामै उनको मन्त्री पद ओलीको राजीनामा सँगसँगै गयो । तर फेरि उनको मन्त्री बन्ने टुंगो लागेको छैन ।
प्रचण्डले आफ्नो नेतृत्वको सरकारमा मन्त्री बनाउने आश्वासन दिएपछि ओली सरकारबाट समर्थन फिर्ता लिने सिंह पहिलो मन्त्री हुन् । प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएको दिन दूबोको माला लिएर उनी संसद् भवन पुगेका थिए ।
उनी निकट नेताहरूका अनुसार मैतीदेवीको डेरा सिंहलाई ‘नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छाबाउको अनुहार’ भनेझैं भएको छ । महँगो डेरा छाडौं, फ्याट्ट मन्त्री भइएला भन्ने आश, नछाडौं दिनदिनै भाडा बढेको बढ्यै छ । त्यसैले आजित भएपछि एकदिन सिंहले प्रधानमन्त्री प्रचण्डसँग भनेछन्, ‘डेरा छाडौं कि नछाडौं ?’ प्रचण्डले जवाफ दिए, ‘नछाड्नु, म ल्याउँछु तपाईलाई ।’