१५ बैशाख २०८१, शनिबार
Follow Us

समलिङ्गी विवाहसम्बन्धी कानूनको माग

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०७५, आईतवार ०९:५०

काठमाडौं । नेपालको संविधान र कानूनले वैवाहिक समानतालाई स्वीकार गरेको भन्दै यस क्षेत्रका सरोकारवालाहरूले समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन माग गर्नुभएको छ ।

युवालय नामक संस्थाले लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणसम्बन्धी विषयमा सञ्चारमाध्यमसँग आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँहरूले समलिङ्गी व्यक्तिले कानूनको अभावमा विवाहजस्तो मौलिक अधिकारबाट समेत वञ्चित हुनु परेको गुनासो गर्नुभयो ।

कार्यक्रममा नीलहिरा समाजका कार्यक्रम अधिकृत अनुज पिटरले संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारको विशेष व्यवस्था गरिने उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । आफू स्वयं पुरुष समलिङ्गी भए पनि कानूनको अभावमा मन परेको पुरुषसँग कानूनीरूपमा विवाह गर्न नपाएको उहाँको गुनासो थियो ।

युवालयका अध्यक्ष सबिन सिंहले लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणसम्बन्धी प्रस्तुति दिँदै समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन सञ्चारमाध्यम, नागरिक समाजलगायतले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाका युवा अभियानकर्मी कविता बस्नेतले यौन शिक्षाका सम्बन्धमा शैक्षिक पाठ्यक्रमसँगै घरपरिवारमा समेत सचेतना फैलाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले वैवाहिक समानता, बृहत्तर यौनिकता शिक्षा र सुरक्षित गर्भपतनका सम्बन्धमा जिज्ञासा र सुझाव राख्नुभएको थियो । विश्वमा हालसम्म ३० मुलुकले समलिङ्गी विवाहसम्बन्धी कानून पारित गरिसकेको समाजले जनाएको छ ।