१३ बैशाख २०८१, बिहीबार
Follow Us

अर्थमन्त्रीको राजीनामा माग

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०७५, आईतवार १०:०१

काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन सुरु गरेका छन् । राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै लगानीकर्ता दवाव समूहले आजबाट भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्ज कार्यालयको मूलगेटमै अनसन सुरु गरेका हुन् ।

सेयर बजारका लागि संचालनमा ल्याइएको अनलाईन कारोबार प्रणालीले काम नगरेपछि उनिहरुले अर्थमन्त्री खतिवडाको राजीनामा माग गरेका हुन् । तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्न बाध्य हुने चेतावनीसमेत उनिहरुले दिएका छन् ।

लगानीकर्ताहरुले पूँजी बजारलाई सहज बनाउन बहानाबाजी नगर्न पनि सरकारलाई सचेत गराएका छन् । यसअघि लगानीकर्ताहरुले अनलाईन कारोबार प्रणालीलाई तत्काल सहज बनाउनुपर्ने लगायत दश बुँदे माग गर्दै नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए । माग सम्वोधन नभएपछि उनीहरु अनसन बसेका हुन् ।