१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एसिया प्यासिफिक भेलामा एनआरएन नेताहरुले के भने ?

नेपालब्रिटेन डट कम्
२३ मंसिर २०७५, आईतवार १२:३१

हङकङ । आइतबार भएको सङ्घको एसिया प्यासिफिकको छैटौं भेलामा नेपालको समृद्ध मार्गचित्र, विकास मोडल र लगानी वातावरण विषयमा विश्वका १८ देशका नेपालीहरुबीच बहस भएको हो । बहसमा गैरआवासीय नेपाली र नेपालका व्यवसायीबीच सीप, ज्ञान र पुँजीलाई एकीकृत गरी मुलुकलाई समृद्ध गराउनुपर्नेमा जोड दिइयो ।

विश्व अर्थतन्त्रको आर्थिक हबका रुपमा विकसित हुँदै गएको हङकङमा आयोजना भएको गैरआवासीय नेपाली सङ्घ एसिया प्यासिफिकको सम्मेलनमा नेपालको विकास बहस भएको छ ।

आइतबार भएको सङ्घको एसिया प्यासिफिकको छैटौं भेलामा नेपालको समृद्ध मार्गचित्र, विकास मोडल र लगानी वातावरण विषयमा विश्वका १८ देशका नेपालीहरुबीच बहस भएको हो । बहसमा गैरआवासीय नेपाली र नेपालका व्यवसायीबीच सीप, ज्ञान र पुँजीलाई एकीकृत गरी मुलुकलाई समृद्ध गराउनुपर्नेमा जोड दिइयो ।

नेपालबाहिर भएका नेपालीहरुले नेपालमा लगानी गने सक्ने भए पनि अझै खुल्ला रुपमा आउन नसकेकाले सरकारले ढुक्कको वातावरण तयार भएको सन्देश दिनुपर्ने र लगानी बढाउनका लागि प्रोत्साहन गर्नुपर्ने भेलाको बहसमा सहभागी उद्योगी, व्यवसायी तथा सङ्घका नेतृत्वहरुले जोड दिए । भेलामा नेपाल सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालको समेत सहभागिता थियो ।

भेलामा सहभागी भएका उद्योगी तथा व्यवसायी राजेन्द्र खेतानले नेपालमा अझै पनि प्रतिस्पर्धी अर्थतन्त्र नभएकाले लगानीका लागि थुप्रै अवसरहरु रहेको बताए । ‘हामीले लगानी गर्न सक्ने थुप्रै क्षेत्र छन्, त्यसका लागि सहकार्य जरुरी छ,’ उनले भने । गैरआवासीय नेपाली र नेपालका व्यवसायीबीच अझै समन्वय भएको छैन, एनआरएनको पुँजी, सीप र ज्ञानलाई नेपालका व्यवसायीहरुसँग साझेदार गर्न सकिने भए पनि अहिलेसम्म साझेदारीका रुपमा अगाडि बढ्न नसकेको उनले बताए । लगानीका लागि सम्भाव्यताको अध्ययन गर्नुअघि सम्भाव्यताको एकिन गरिनुपर्छ, त्यसका लागि सबै तयार हुनुपर्छ, उनले भने ।

सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोले नेपालीहरुले विश्वका विभिन्न मुलुकमा लगानी गरिरहेको बताउँदै अब नेपालमा लगानी गर्ने सही समय आएकाले नेपालभित्र नै लगानी बढाउनुपर्ने बताए । ‘पछि वातावरण अझ राम्रो भयो भने विदेशी लगानीकर्ता लाइन लाएर नेपाल आउँछन् अहिले लगानी गर्ने समय हाम्रो हो,’ उनले भने । नेपाल बस्नेले मात्र लगानी गर्नुपर्छ भन्ने होइन, सबैले लगानी गर्नुपर्छ अहिले स्थायी सरकार आएकाले अब लगानीमा जोड दिनुपर्ने उनले बताए ।

सङ्घका निवर्तमान अध्यक्ष शेष घलेले भावनाका आधारमा मात्र अहिले नेपालमा लगानी भएको बताए । ’सरकारले गैरआवासीय नेपालीलाई लगानी गर्ने पहिलो सम्भावना भएको रुपमा हेर्नुपर्छ,‘ उनले भने । ‘हामीलाई पहिला उत्साहित र प्रोत्साहन गरिनुपर्छ, हामीलाई देखेपछि मात्र अझ बढी विदेशी लगानीकर्ताहरु आउँछन्,’ घलेले भने, ‘सरकार लगानी ल्याउने विषयमा गम्भिर भएर लाग्नुपर्छ ।’

सङ्घका अध्यक्ष भवन भट्टले एनआरएनहरुले विदेशबाट सीप, ज्ञान र पुँजी भित्र्याइरहेको बताउँदै सरकारले सहयोग गर्यो भने अझै बढी भित्र्याउन सकिने बताए । ‘सरकारले अहिले बल्ल एनआरएनलाई विभिन्न रुपमा प्रोत्साहन गर्न थालेको छ,’ भट्टले भने । एनआरएनकै लगानीमा देशकै ठूलो अस्पताल, पाँचतारे होटलदेखि हाइडोपावर, कृषि तथा बैङ्कमा लगानी बढिरहेको उनले बताए ।

बहसमा कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले अब नेपालमा लगानी गर्नका लागि कुनै अवरोध नभएको बताए । ‘स्थायी सरकार आएको छ, निजी क्षेत्रलाई प्रोत्साहन गरेको छ,’ उनले भने, ‘अहिले लगानीको वातावरण धेरै नै बनेको छ ।’ लगानीको क्षेत्र पहिचान गरी फरक फरक रुपमा लगानी बढाउनुपर्नेमा खनालले जोड दिए । तीन क्षेत्रमा व्यापक लगानी गर्न सकिन्छ, उनले भने । पर्यटन, जलविद्युत् तथा कृषिमा अझै पनि लगानी व्यापक रुपमा बढाउनुपर्ने उनले बताए ।

कृषिप्रधान मुलुकमा १ खर्ब ४० अर्बको खाद्यान्न तथा कृषि उपज आयात हुने बताउँदै, देशमा अझैपनि ३८ प्रतिशत जमिन बाँझो रहेकाले कृषिमा लगानी बढाउन मन्त्री खनालले आग्रह गरे ।

भेलामा १८ देशका ३ सय जनाको सहभागिता थियो । कार्यक्रममा नेपालको समृद्धि, विकास र लगानीका साथै नेपालबाहिर रहेका नेपालीहरुको अवस्थाका विषयमा पनि छलफल भएको थियो ।

गैरआवासीय नेपाली सङ्घ, हङकङकी अध्यक्ष तथा एसिया प्यासिफिक सम्मेलनकी सदस्य सचिव राधिका गुरुङ टीकाले सम्मेलनमार्फत् प्रशान्त क्षेत्रका नेपालीहरुको अवस्थाका विषयमा मात्र नभएर देशभित्र लगानी कसरी बढाउन सकिन्छ भनेर छलफलमा बढी जोड दिइएको बताइन् । ‘हामीले जुन रुपमा कार्यक्रमको सफलता सोचेका थियौं त्योभन्दा बढी सफलता मिल्यो,’ उनले भनिन् ।

कार्यक्रममा पहिलो पटक महिलाहरुको सम्मेलनसमेत गरिएको थियो । सम्मेलनमा गैरआवासीय महिलाहरुको समस्या, वैदेशिक रोजगारमा रहेका महिलाको अवस्था र नेपालभित्र महिलाहरुलाई उद्यमशीलतामा गरिनुपर्ने प्रयासका विषयमा छलफल भएको थियो ।

त्यस्तै कार्यक्रममा युवा तथा वैदेशिक रोजगार विषयक छलफलसमेत भयो । छलफलमा वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले ३९ लाख नेपाली रोजगारीका लागि विदेशमा रहेकाले सङ्घले रोजगारीमा गएका कामदारलाई उपेक्षा गर्न नहुने बताए । शिक्षाका लागि होस् या कामको खोजीमा नेपालीहरु विदेश गएपछि सङ्घ जन्मिएको बताउँदै कामदारको हितका लागि सङ्घले अहम भूमिका खेल्नुपर्ने बताए ।
– – प्रकटकुमार शिशिर