८ बैशाख २०८१, शनिबार
Follow Us

भूकम्पपीडितलाई थप एक लाख दिने

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७३, आईतवार १४:१९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय पुनःनिर्माणमा प्राधिकरणको काम सन्तोषजनक नभएको गुनासो गरेका छन् । दाहाल प्रधानमन्त्री भएपछि पहिलो पटक आज बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा प्रधानमन्त्री एवं समितिका अध्यक्ष दाहालले भूकम्पपीडितको अपेक्षाअनुसार काम हुन नसक्दा पीडितमा आक्रोश बढेको भन्दै प्राधिकरणको कामप्रति असन्तुष्टि जनाएका हुन् । बैठकमा कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणले हालसम्म गरेका कामको विवरण, अनुदान रकम वितरण, त्यसमा देखिएका कठिनाई, नीतिगत सुधार गर्नुपर्ने पक्ष र कमजोरीबारे जानकारी गराएका थिए । भूकम्प अति प्रभावित १४ जिल्लामा काम भइरहेकाले बाँकी १७ जिल्लामा के गर्ने भन्ने विषय पनि छलफल भएको प्राधिकरणले जनाएको छ । बैठकमा पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख रुपैयाँ सूचीकृत लाभग्राहीलाई दिने प्रस्ताव गरिएको छ । पुनर्निर्माण सम्बन्धमा बुँदागत छलफलपछि निर्णय हुने गरी आजको बैठक स्थगित भएको उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।
समितिका सदस्य एवम् नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले मन्त्रालयका तर्फबाट र विज्ञले पनि बैठकमा विषयवस्तु राखेकाले सोमबार छलफल गरी थप निर्णयमा पुगिने बताए ।
दाहाल नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले पंैतालीस दिनभित्र भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम उपलब्ध गराइसक्ने निर्णय गरेको थियो । तर, नीतिगत र व्यवस्थापकीय निर्णय गर्नुपर्ने निर्देशन समितिको बैठक उनी प्रधानमन्त्री भएको पचास दिनपछि पहिलो पटक बसेको हो ।