८ बैशाख २०८१, शनिबार
Follow Us

जापान स्वर्गजस्तो लाग्यो

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७५, मंगलवार ११:५१

पशुपति गुरुङ, अध्यक्ष, संस्कार समाज नेपाल

मेहनत, लगनशील र संस्कारी भइयो भने व्यक्ति मात्र होइन, नेपाल स्वर्ग बन्ने पशुपति गुरुङको ठम्याइँ छ । यो उनले विदेशमा बसेर हासिल गरेको अनुभव हो । अज्ञानता वा पाश्चात्य प्रभावले नेपालीको संस्कारमा परिवर्तन आएको र त्यो समृद्धिको बाधक भएको उनी बताउँछिन् । त्यसैले नेपाली समाजमा असल संस्कार सिकाउन संस्थागत रूपमै गुरुङले अभियान सञ्चालन गरेकी छन् । संस्कार अभियानको उद्देश्य र विदेशमा हासिल गरेको अनुभवबारे कुमार राउतले गुरुङसँग गरेको कुराकानी :

० के हो संस्कार समाज ?
– सोच, आचरण र व्यवहार परिवर्तनका लागि सुरु गरिएको अभियान हो । पुराना संस्कारका राम्रो कुरालाई आत्मसात गर्दै वा परिस्कृत गर्दा असल संस्कार समृद्धिको आधार हुन्छ भनेर हामीले यो अभियान सुरु गरेका हौं ।

० के के पर्छ यो संस्कारमा ?
– बिहान ओछ्यानबाट उठेदेखि राति ओछ्यानमा पुग्दासम्म हामीले असल संस्कार सिक्नुपर्छ । फोहोरमैलाको व्यवस्थापन, ट्राफिक नियमदेखि मानिसको हरेक गतिविधिमा असल संस्कार चाहिन्छ ।

० कहिले कहाँ सिकाउनु हुन्छ ?
– विशेषतः हामी ३६५ दिन नै सक्रिय हुन्छौं, त्यसबाहेक प्रत्येक शनिबार हामी टोलटोलमा पुग्छौं । सरसफाइलगायत हरेक गतिविधिमा सरोकारवालासँग मिलेर काम गर्छौं ।

० कति भो अभियान सञ्चालन गरेको ?
– धेरै भएको छैन, यद्यपि ढिलो गरिएछ भन्ने लागेको छ । अहिले ६८ औं शृंखला हामीले ठमेलको टोलमा सञ्चालन गरिरहेका छौं । प्रत्येक शनिबार सरोकारवालासँग मिलेर अभियान सञ्चालन गछौं ।

० कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
– टोल छिमेकबाट एकदमै उत्साहजनक समर्थन प्राप्त भएको छ ।

० संस्कार सिकाइ राख्नुपर्ने हो र ?
– कतिपय अञ्जानमा सर्वसाधारणले गलत काम गरिरहेका हुन्छन् । एकजनाको गल्तीले धेरैलाई नोक्सान पुगेको हुन्छ । त्यसैले उनीहरूलाई सम्झाउनुपर्छ । व्यक्तिलाई भन्दा पनि हामीले असल संस्कार स्कुलबाट सिकाउनुपर्छ भन्ने लागेको छ । त्यसैले स्कुलमा गएर हामी असल संस्कारको टिप्स दिन्छौं ।

० स्कुल किन रोज्नुभयो ?
– बालबालिकाले सिके भने घर, समाज र देशलाई नै काम लाग्छ । संस्कारी बालबालिकाबाट हामीले धेरै कुरा बदल्न सक्छौं । यद्यपि हाम्रो शिक्षा व्यावसायिक थोरै र विदेशिन पे्ररित गर्ने खालको छ । देशप्रेम र व्यावसायिक शिक्षामा जोड दियौं भनेर राष्ट्रलाई फाइदा पुग्छ ।

० अभियानको खर्चपानी कसरी जुट्छ ?
– हामी आफैले यो अभियान सञ्चालन गरेका हौं । समाजको सातजना बोर्ड सदस्य हुनुहुन्छ, उहाँहरूबाट दस–दस हजार उठायौं । मैले एक लाख रुपैयाँ कोषमा राखें, त्यसैबाट यो अभियान सञ्चालन भइरहेको छ ।

० संस्कार सिकाउनुपर्छ भन्ने सोच कसरी आयो ?
– यो मेरो २२ वर्षअघिदेखिको योजना थियो । लामो समय विदेशमा बसियो, धेरै कुरा देखियो, जानियो, भोगियो । विदेशीले जस्तै हामी पनि संस्कारी बन्ने हो भने उनीहरूले हासिल गरेको समृद्धि हामीले पनि गर्न सकिन्छ भन्ने निष्कर्षमा म पुगें ।

० कुन देश बस्नुभयो ?
– धेरै समय जापान बसें, त्यसपछि आफ्नै देशमा केही गर्न नेपाल फर्किएँ । तर त्यसबेला माओवादी द्वन्द्वले गर्दा केही गर्ने वातावरण बनेन । फेरि विदेशिएँ । दक्षिण कोरियामा व्यवसाय गरेर बसियो ।

० अहिले के गर्नुहुन्छ ?
– अहिले पनि सुन्धारामा होटल व्यवसाय छ । मेरो होटलको नाम पशुपति हो । त्यस्तो ठूलो तारे होटल होइन, सामान्य नै हो ।

० कस्ता पाहुना आउँछन् ?
– विशेषतः वैदेशिक रोजगारीका लागि बाहिर जानेहरू तथा कार्यालयको काम लिएर राजधानी आएकाहरू मेरा होटलका पाहुना हुन् ।

० व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ?
– छु, जुन क्षेत्रमा लगानी गरियो, त्यसबाट सन्तुष्टि लिन पनि जान्नुपर्ने रहेछ ।

० थातथलो कहाँ हो नि ?
– हामी कास्की घान्द्रुकका हौं, त्यो अहिले अन्नपूर्ण गाउँपालिकामा पर्छ ।

० विदेशिनुपर्ने बाध्यता किन आइलाग्यो ?
– त्यस्तो होइन, यस्ता कुरालाई गाउँ र छरछिमेकले प्रभाव पार्दो रहेछ । खोला जता बेग्यो, त्यतै बग्न जानिएन भने मान्छे एक्लो हुँदो रहेछ । यद्यपि हाम्रा गाउँठाउँ राम्रै थियो ।

० पहिलोपटक विदेश पुग्दा कस्तो लाग्यो ?
– सन् १९९५ मा जापान पुगें, त्यस्ता विकास र समृद्धि मैले कल्पना पनि गरेको थिइनँ । सबै कुरा कल्पनाभन्दा बाहिरका थिए । स्वर्ग भनेको यही हो जस्तो लाग्थ्यो ।

० के सोच्नुभयो ?
– त्यहाँको समृद्धि देखेर हाम्रो देश किन यस्तो नभएको होला भन्ने कुराले मेरो दिमाग क्लिक ग¥यो । जापानजस्तै हाम्रो देश नेपाल किन नबनाउने ? भन्दै नेपाल फर्किने सोच बनाउन थालें ।

० फर्किनुभयो ?
– फर्किने, फर्किएर नेपालमा के गर्ने भन्ने अर्को महत्वपूर्ण सवालले मलाई सतायो । काम राम्रो थियो, पैसा कमाइ झन् राम्रो थियो । ती कुरा छोडेर फर्किने अवस्थामा म थिइनँ ।

० जापान बसेर के सिक्नुभयो ?
– जापान कसरी बन्यो भन्ने कुराको अनुभव गरें । उनीहरूको भगवान भनेकै काम र मेहनत रहेछ । परिश्रमी हातले जापान बनेको रहेछ भन्ने कुरा मैले सिके । अर्को कुरा संस्कार र अनुशासन हो । उनीहरू नियमसँग डराउँछन् । हाम्रो देशमा हामीसँग नियम र संस्कार डराउँछ । फरक यही हो ।

० के काम गर्नुहुन्थ्यो ?
– सब्जीमण्डीमा काम गर्थे, तरकारी उत्पादन, गे्रडिङ र बजार प्रवद्र्धनको राम्रो ज्ञान हासिल गरेकी थिएँ ।

० कहिले फर्किनुभो ?
– सन् २००४ मा ३० वर्षकी भएँ । त्यसबेला नेपालीको औसत आयु ६० वर्षको थियो । बाँकी ३० वर्ष नेपालमै काम गर्छु भनेर फर्किएँ ।

० अनुभव भएकै काम गर्नुभयो ?
– गर्ने प्रयास गरेकी थिएँ, जापानबाट कमाएर ल्याएको पैसा केही लगानी पनि गरें । तर माओवादी द्वन्द्वले गर्दा काम गर्ने वातावरण भएन, पैसा मात्र सक्ने काम भयो ।

० त्यसपछि ?
– मैले टमाटर फलाएर बजार पु¥याए भने बाहिरको आयात प्रतिस्थापन हुन्छ भन्ने सोच थियो । रोजगारी सिर्जना र नेपाली मुद्रा बचत हुन्थ्यो । त्यसैले जमिन लिएर योजनाबद्ध हिसाबले काम सुरु गरेकी थिएँ, तर काम गर्ने वातावरण नबनेपछि सन् २००७ मा कोरिया गएँ ।

० कोरियामा के गर्नुभयो ?
– त्यहाँ व्यवसाय सुरु गरियो, डिर्पाटमेन्ट स्टोर सञ्चालन गरेका थियौं । यद्यपि देशप्रेम र नेपालको पर्यटन संसारभर बेच्न सकिन्छ भन्ने भावना जाग्यो । नेपालीहरूको सोच र आचरणमा परिवर्तन गर्नुपर्छ भनेर कोरियामा बसेर पनि धेरै काम गरें ।

० नेपाल फर्किएर ती काम गर्नुभयो त ?
– पर्यटन र सत्कारबाट हामीले धेरै आम्दानी गर्नुपर्छ । त्यसका लागि हामी संस्कारी बन्नुपर्छ । र, अहिले यही संस्कार सिकाउने अभियानमा छु ।