७ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकार महासंघ यूकेको साउथ ईस्ट लण्डनमा अन्तरक्रिया

नेपालब्रिटेन डट कम्
२५ मंसिर २०७५, मंगलवार १९:०७

लण्डन । नेपाल पत्रकार महासंघ बेलायतले साउथ ईस्ट लण्डनको नेपाली समुदायसंग एक बृहत अन्तरक्रिया गर्ने भएको छ ।
बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेका क्षेत्रहरुमा पुगेर स्थानीय समुदायसंग अन्तरक्रिया गर्ने योजनाअनुरुप पहिलो कार्यक्रम यहि डिसेम्बर १६ तारिख आइतबार साउथ ईस्ट लण्डनमा गर्न लागिएको हो ।

प्लमस्टिड स्थित गेसो हल (चौतारी रेष्टुरेन्टसंगै ) मा मध्यान्ह १२ बजेदेखि दिउंसो ३ बजेसम्मको लागि कार्यक्रम निर्धारित छ ।
कार्यक्रमका संयोजक तथा शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्यालका अनुसार अन्तरक्रियामा साउथ ईस्ट लण्डनस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, समाजका अगुवा, बुद्धिजिवी, व्यवसायीहरुका साथै बेलायतमा क्रियाशिल नेपाली पत्रकारहरुको सहभागिता रहनेछ ।
समुदाय र पत्रकारहरुबीचको सम्बन्ध सुदृढ गर्ने, आपसी सहकार्य गर्ने, व्यवसायिक पत्रकारिताको विकासमा सहयोग गर्ने लगायतका विषयमा अन्तरक्रिया केन्द्रित रहने संयोजक अर्यालले जनाए ।

अन्तरक्रियाको सुरुमा बिबिसीमा कार्यरत अग्रज पत्रकार भगिरथ योगीले कार्यक्रमको विषयवस्तु तथा अवधारणापत्र प्रस्तुत गर्नेछन् । अन्तरक्रियाका सबै सहभागीले सम्बन्धित विषयमा पालैपालै आफ्नो विचार व्यक्त गन मौका पाउनेछन् । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेका पूर्व अध्यक्ष समेत रहेका युनिभर्सिटी कलेज लण्डन (युसिएल) का एशोसिएट प्रोफेसर डा तेजेन्द्र फेरालीले अन्तरक्रियामा व्यक्त विचारहरुमाथिको टिप्पणीसहित विश्लेषण प्रस्तुत गर्नेछन् ।
कार्यक्रमको अन्त्यमा अन्तरक्रियामा व्यक्त सुझावहरु निश्र्षकका रुपमा प्रस्तुत गरिनेछ ।
शाखाका अध्यक्ष नरेश खपांगी मगरले अन्तरक्रिया कार्यक्रममा सहभागिताको लागि साउथ ईस्टस्थित नेपाली समुदाय र बेलायतमा कार्यरत सबै पत्रकारहरुलाई आव्हान गरेका छन् । समुदाय र पत्रकारहरु एक अर्काबाट के कस्ता अपेक्षा राख्छन् ? उनीहरुबीच के कसरी सहकार्य हुन सक्छ ? दुवै पक्षबाट एक अर्कालाई के कस्तो सहयोग हुन सक्छ ? भन्ने जस्ता विषयमा पत्रकार र समुदाय संगै बसेर गरिने छलफल उपयोगी बन्ने उनको विश्वास छ ।
कार्यक्रमका लागि साउथ ईस्टस्थित नेपाली संघसंस्थाका प्रतिनिधि र समुदायबाट गरी झण्डै १ सय जनालाई निमन्त्रणा पठाइसकिएको शाखाका महासचिव सञ्जयभक्त कंडेलले बताए ।