१६ चैत्र २०८०, शुक्रबार
Follow Us

देउवा अनुपस्थित, संवैधानिक परिषद्को बैठक स्थगित

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०७५, बुधबार ०६:२५

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली का‌ग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषद्को बैठक आज पनि स्थगित भएको छ । बैठक बिहीबार बिहान ९ बजे बस्ने गरी स्थगित भएको राष्ट्रिय सभाका अध्यक्ष तथा परिषद् सदस्य गणेश तिमल्सिनाले जानकारी दिए । यसअघि मंगलबार बस्ने भनिएको बैठक पुष ५ गतेका लागि सारिएको भए पनि बैठक पुनः आजका लागि बोलाइएको थियो ।

आज प्रधानमन्त्रीसहित सबै सदस्य बैठकमा सहभागि हुन सिंहदरवार पुगेपनि सभापति देउवाले अन्तिम अवस्थामा कार्यव्यस्तताका कारण आउन नसक्ने जानकारी गराएपछि बैठक स्थगित गरिएको हो । बैठकका लागि प्रधानमन्त्री सवा नौ बजे नै सिंहदरवार आइसकेको प्रधानमन्त्री ओलीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिए ।

बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने विषयमा छलफल हुनेछ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद् बैठक बोलाइएको हो ।

न्याय परिषदले प्रधानन्यायाधीशका लागि न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । संसदीय सुनुवाई समितिले जोशीलाई यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो ।

सिफारिस भएका जोशी र राणामध्ये एकलाई सिफारिस गर्नुपर्ने बाध्यता छ । तर, जोशी संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत र राणा निकै विवादमा रहेका कारण परिषदलाई निर्णय गर्न कठिनाई हुने देखिएको छ ।