७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस महासमिति बैठकमा १४ सय सदस्यहरु सहभागी हुने

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०७५, बुधबार १३:४३

काठमाडौं । मंसिर २८ गतेबाट शुरु हुन लागेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमितिको बैठकमा एक हजार चार सयभन्दा बढी महासमिति सदस्यहरु सहभागी हुने भएका छन् । संघीय संरचनाअनुसार कांग्रेसको कार्यसमिति नभएको हुँदा बैठकमा विगतकै निर्वाचन प्रणालीअनुसार महासमिति सदस्यहरु सहभागी हुनेछन् ।

संघीय संरचनाअघि कायम दुई सय ४० निर्वाचन क्षेत्रबाट महासमिति सदस्य छनोट भएका छन् । प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित पाँच जना सहभागी हुनेछन् । त्यसअनुसार एक हजार दुई सय प्रतिनिधि हुनेछन् ।

भ्रातृ, जनसम्पर्क र शुभेच्छुक संगठनबाट ५४/५४ का दरले सदस्यहरु सहभागी हुने हुनेछन् । कांग्रेसको विधानअनुसार जनसम्पर्कबाट एक समिति बराबर तीन जना सहभागी हुने व्यवस्था छ । नेपाली कांग्रेसका १३ भ्रातृ संस्था छन् भने १७ वटा शुभेच्छुक संस्था रहेका छन् । महासमिति बैठक पुस ३ गते सकिनेछ । भ्रातृ संस्थाहरुबाट महासमिति बैठकका लागि छनोट हुने गरेका छन् । शुभेच्छुक संस्थाबाट भने केहीले मात्रै प्रतिनिधि पठाउन पाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए ।

नेपाल महिला संघ, तरुण दल, विद्यार्थी संघ, किसान संघ, दलित संघ, भूतपूर्व सैनिक संघ, प्रजातातन्त्र सेनानि संघ, आदिवासी जनजाति संघ कांग्रेसका भ्रातृ संस्था हुन् । त्यसैगरी लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, मुस्लिम संघ, राष्ट्रिय मगर संघ र ठाकुर समाज पनि कांग्रेसका भ्रातृ संगठन हुन् ।

महासमिति बैठकमा १२औं महाधिवेशनअघि केन्द्रीय सदस्य रहेकाहरु स्वतः प्रतिनिधि बन्ने व्यवस्था छ । पार्टी सभापतिले बैठकमा सहभागी बनाउन १० जना चयन गर्नसक्ने विधानमा व्यवस्था छ ।