१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बलात्कार घटनाका दुई अभियुक्त पक्राउ

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०७५, बुधबार १३:४६

काठमाडौं । ललितपुरको गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका दुई अभियुक्त पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घटनाका दुई फरार अभियुक्तलाई पक्राउ गरेको हो । जिल्ला अदालतको निर्णय उच्च अदालत पाटनले उल्ट्याउँदै माघ २५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यसपश्चात् फरार रहेका ललितपुरको गोदावरी नगरपालिका–१, गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र सोही ठाउँका २१ वर्षीय पवन कुँवरलाई बुधबार पौने २ बजे ललितपुरको गोदावरीबाट प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनामा रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रतिवादी बनाइएको थियो । त्यसमध्ये सिलवाल पक्राउ परेका छैनन् । फरार रहेका सिलवालको पनि खोजी भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

ललितपुर गोदावरीकी २२ वर्षीया एक विवाहित युवतीलाई २ मंसिर २०७४ मा माइतीबाट फर्किरहेका बेला अभियुक्तहरूले सामूहिक बलात्कार गरेको थिए । ३ मंसिरमा तोरीबारीमा अचेत अवस्थामा फेला परेकी उनको टाउकोमा ढुंगा प्रहार गरिएको थियो ।

पीडितको हात र टाउकोमा गरी ३० भन्दा बढी टाँका लगाइएको छ । ज्यान मार्ने उद्योग, सामूहिक बलात्कार र चोरी मुद्दाका अभियुक्तहरूलाई ललितपुरका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारेखमा रिहा गरेको थियो । त्यसपछि उनीहरू फरार थिए ।