७ बैशाख २०८१, शुक्रबार
Follow Us

काङ्ग्रेस महासमिति बैठक पुष ४ सम्म चल्ने

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७५, बिहीबार ०५:४४

काठमाडौं । नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारी अन्तिम चरणमा पु¥याएको छ । परिमार्जित विधान र राजनीतिक प्रश्ताव पारित नहुदै बैठक सुरु हुने सम्भावना बढ्दै गएको छ भने पुष ३ गतेसम्मको निर्धारित तालिका पनि परिवर्तन हुने भएको छ । मंसिर २८ गतेदेखि शुरु हुने भनिएको महासमिति बैठक २९ गते दिउसो मात्र शुरु हुने भएकाले बैठक ५ पुषसम्म पुग्न सक्ने अनुमान गरिएको हो ।

महामन्त्री डा.शशांक कोइरालाले पेश गरेको प्रतिवेदनप्रति खासै चासो देखिएको छैन भने उपसभापति विमलेन्द्र निधिले गत मंगलवार पेश गर्नु भएको राजनीतिक प्रश्तावप्रति केहीले असहमति राखेका छन् । निधिले देशका प्रमुख शहरमा पुगेर कार्यकता र पार्टीका शुभचिन्तकसँग सुझाव लिएको थियो । सम्भवतः आजको बैठकबाठ उक्त राजनीतिक प्रश्ताव पास हुनेछ । भोली २८ गते १ बजेदेखि सानेपा स्थित पार्टी कार्यालयमा महासमिति सदस्यहरुको रजिष्ट्र गर्ने काम शुरु हुने पार्टी कार्यालयले जानकारी दिएको छ ।

काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मङ्सिर २९ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो । महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरिएको थियो । पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव समिति र महामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा साङ्गठनिक प्रस्ताव समिति गठन गरिएको थियो ।

यस्तै अर्का महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा, सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा समग्र आर्थिक नीति प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन र काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) को संयोजकत्वमा काठमाडौँ उपत्यकाका तीनै जिल्ला कार्यसमिति रहने गरी स्थानीय व्यवस्थापन समिति गठन गरेको थियो ।

विधान मस्यौदाका सम्बन्धमा मङ्सिर १३ देखि २२ गतेसम्मको केन्द्रीय समिति बैठकमा निरन्तर छलफल भए पनि सो प्रतिवेदन पारित हुन सकेको छैन । पदाधिकारी सङ्ख्या बढाउने÷नबढाउने, पदाधिकारी निर्वाचित हुनुपर्ने वा मनोनयन हुनेलगायत विषयमा बहस अझै टुंगिन सकेको छैन । आर्थिक नीति केन्द्रीय समितिबाट पारित भइसकेको छ भने राजनीतिक प्रस्तावमाथिको छलफल जारी छ ।

केन्द्रीय समितिबाट पारित सबै प्रतिवेदन महासमिति बैठकमा पेश हुने र छलफल गरी पारित हुनेछन् । महासमिति बैठकमा महासमिति सदस्य तथा केन्द्रीय समिति गरी करीब एक हजार ५ सय सहभागी हुने पार्टी कार्यालयले जनाएको छ । बैठकको प्रचारप्रसार, स्वागतद्वार निर्माण, प्रकाशनलगायत अन्य सामग्रीको तयारी र सहभागीको खाना, चिया, खाजाको व्यस्थापनको तयारी भइसकेको भक्तपुर काङ्ग्रेसका सभापति दुर्लभ थापाले जानकारी दिए ।