७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस महासमितिमा जनसम्पर्क समितिबाट ९७ जना सहभागी

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७५, बिहीबार १२:५७

काठमाडौं । नेपाली कांग्रेसको शनिबारदेखि सुरु हुने महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । १ हजार ६ सय महासमिति सदस्य बैठकमा सहभागी हुनेछन् । त्यसमा २ सय ४० निर्वाचन क्षेत्रबाट ५ जनाका दरले १ हजार २ सय र भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ९७ जना, जनसम्पर्क सम्पर्क समितिबाट ९७ जना बैठकमा सहभागी हुनेछन् । २९ जना जिल्ला सभापति, २६ जना सांसद पर्यवेक्षकका रुपमा महासमिति बैठकमा सहभागी हुनेछन् ।

उद्घाटन सत्र २९ गते ११ बजे योगम्बर पार्टी प्यालेस रामशाहपथमा हुनेछ । उद्घाटन सत्र अत्यान्त छोटो बनाउने उद्देश्य राखिएको छ । उक्त सत्र करिब सवा दुई घन्टामा सक्ने तयारी रहेको प्रवक्ता शर्माले जानकारी दिए ।

उद्घाटन सत्र समाप्तिसँगै बन्दसत्र सुरु हुनेछ । बन्दसत्र सुरु भएकै दिन पाँचवटा दस्तावेजहरु प्रस्तुत हुनेछ । उपसभापति विमलेन्द्र निधिले राजनीतिक दस्तावेज, महामन्त्री शंसाक कोइरालाले सांगठनिक प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन मस्यौदा प्रतिवेदन, समग्र आर्थिक प्रतिवेदन सहमहामन्त्री डा. प्रकाशशरण महत र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गर्ने प्रवक्ता शर्माले जानकारी दिए ।

बन्दसत्रको ३ दिन काठमाडौं, ललितपुर र भक्तपुरका स्वयसेवकले बैठक व्यवस्थापनमा सहज गर्ने छन् । उद्घाटन सत्रका दिन मञ्चको दायाँ र बायाँ भिडियो र स्टिल क्यामराका लागि दुईवटा मञ्च बनाइने छ । हलभन्दा बाहिर मिडिया सेन्टरको स्थापना गरिनेछ । मिडिया सेन्टरमा हरेक दिन विहान र साँझ दुई पटक प्रवक्ताले महासमिति बैठकबारेमा ब्रिफिङ गर्नेछन् ।
बैठक स्थलबाहिर महासमितिको सामाजिक सञ्जालमा व्यापक प्रचारप्रसार होस् भनेर महासमितिको लोगोसहित सेल्फी प्वाइन्टको व्यवस्था गरिएको छ । उक्त सेल्फी प्वाइन्टमा सर्वसाधारणले तस्बिर खिचाउन सक्ने छन् ।

महासमिति बैठकमा कांग्रेसले अत्याधिक खर्च कटौती गर्ने तयारी गरेको छ । खर्च कटौतीका कारणले कांग्रेसले महासमितिमा सहभागीहरुका लागि बेलुकी को खाना र बासको व्यवस्था सहभागी आफैले गर्नुपर्ने परिपत्र गरिसकेको छ । महासमिति बैठकका लागि पार्टीले कसैसँग चन्दा संकलन नगरेको कांग्रेस काठमाडौं सभापति सबुज बानियाँले जानकारी दिए ।

खर्चको व्यवस्थापन सहभागीको दर्ता शुल्क र कांगे्रसको आन्तरिक कोषबाट व्यवस्थापन गरिने बानियाँले बताए । झन्डै एक करोड रुपैयाँको हाराहारीमा महासमिति बैठक सक्ने बानियाँको दाबी छ ।