११ बैशाख २०८१, मंगलवार
Follow Us

तीन किसिमका भारतीय नोट प्रतिबन्ध

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७५, बिहीबार १३:११

काठमाडौं । सरकारले तीन दरका भारतीय नोट चलनचल्तीमा नल्याउने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दुई सय, पाँच सय र दुई हजारका भारतीय नोट प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

भारत सरकारले २०७३ साल कात्तिक २३ गते रातिदेखि ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएसँगै राष्ट्र बैंकले पनि भारतीय नोट सटहीमा रोक लगाएको थियो । नेपालमा रहेका वैध भारतीय रुपैयाँको व्यवस्थापन हुन नसकेपछि सरकारले एक सयको बाहेक अन्य भारतीय नोट ल्याउन र राख्न गैर कानूनी हुने भन्दै प्रयोगमा नल्याउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

यस्तै बैठकले कपडा उद्योग संघको माग सम्बोधन गर्दै आयात सामग्रीमा एक प्रतिशत कर लगाउने निर्णय गरेको छ । उद्योगका लागि आयात हुने मिल मेसिनरी, स्पेयर पार्टस्, केमिकलमा अब १ प्रतिशत मात्र कर लाग्नेछ । त्यस्तै, मन्त्रिपरिषदले उद्योगले खपत गर्ने विद्युत महशुलमा ५० प्रतिशत सम्म नगद छुट दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश परामर्शका लागि लोकसेवा आयोगमा पठाउने समेत निर्णय गरेको छ ।