७ बैशाख २०८१, शुक्रबार
Follow Us

लिम्बू भाषालाई कामकाजी बनाउन माग

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७५, बिहीबार १३:१६

पाँचथर । लिम्बू भाषा र किरात सिरिजङ्गा लिपि संरक्षणमा सक्रिय पाँचथरका विभिन्न सङ्घसंस्थाले लिम्बू भाषा र सिरिजङ्गा लिपिलाई स्थानीय तहको कामकाजी भाषा बनाउन माग गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समिति पाँचथरसँगको समन्वयमा किरात याक्थुङ चुम्लुङ पाँचथर शाखा नेतृत्वको एक टोलीले फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङलाई ज्ञापनपत्र बुझाउँदै कामकाजी भाषा बनाउन माग गरेका हुन् । छबुँदे ज्ञापनपत्रमा स्थानीय बाहुल्य वक्ता भएको आधारमा लिम्बू भाषा र सिरिजङ्गा लिपिलाई पनि कामकाजीको भाषा बनाइनुपर्ने माग गरिएको छ ।

त्यस्तै राष्ट्रिय शिक्षा विधेयक, २०७४ का आधारमा सम्बन्धित स्थानीय तहभित्र रहेका विद्यालयका सबै तहमा लिम्बू भाषा शिक्षा लागू गराइनुपर्ने र शिक्षक दरबन्दीको व्यवस्था गर्न माग गरिएको छ । सार्वजनिक दस्तावेजमा स्थानीय राष्ट्रभाषामा रहेका गाउँठाउँको अपभं्रशित नामलाई सच्याएर राख्नलगायतका माग गरिएको छ ।

ज्ञापनपत्र किरात याक्थुङ चुम्लुङ पाँचथर शाखा अध्यक्ष नरेन्द्रराज केरुङले फिदिम नगरपालिकाका प्रमुख नेम्बाङलाई हस्तान्तरण गर्नुभएको थियो । विभिन्न अन्तर्राष्ट्रिय सन्धि र घोषणापत्र त्यस्तै नेपालको संविधान, भाषा आयोग ऐन २०७३, बहुभाषिक शिक्षा नीति २०६७ र राष्ट्रिय संस्कृति नीति २०६७ अनुसार स्थानीय सरकारसमक्ष उक्त माग गरिएको चुम्लुङ पाँचथरका अध्यक्ष केरुङले बताउनुभयो । ज्ञापनपत्र बुझ्दै प्रमुख नेम्बाङले विभिन्न भाषा, लिपि, धर्म, संस्कार र संस्कृति सङ्घीयताको सौन्दर्य भएको बताउँदै प्रदेश सरकारसँग समेत समन्वय गर्दै उक्त मागहरुको सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

टोलीले यसअघि जिल्लाको कुम्मायक, तुम्बेवा, मिक्लाजुङ र फालेलुङ गाउँपालिकामा पनि ज्ञापनपत्र बुझाइसकेको र बाँकी स्थानीय तहमा पनि चाँडै बुझाउने बताइएको छ । चुम्लुङ पाँचथरका अध्यक्ष केरुङसँगै नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् पाँचथरका अध्यक्ष रिञ्जी शेर्पा, चुम्लुङ प्रदेश समितिका मुख्य सचिव मधु केरुङ, लिम्बूवान् अध्ययन केन्द्र सुम्हालुङ फिदिम च्याप्टर अध्यक्ष दीलेन्द्र कुरुम्बाङ, चुम्लुङ प्रदेश सदस्य लक्ष्मण लाओती, लिम्बू सांस्कृतिक परिषद्का केन्द्रीय उपाध्यक्ष सागर केरुङलगायतको सहभागिता थियो ।