१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस महासमिति बैठक आजबाट सुरु

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०७५, शुक्रबार ०५:२८

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ । औपचारिक उद्घाटन भने भोलि मात्रै हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीको विधानमा अझै कुरा मिलिनसकेकाले केन्द्रीय समिति बैठक पनि जारी नै छ ।

कार्यक्रम तालिका अनुसार आज कांग्रेस केन्द्रीय कार्यालयमा महासमिति सदस्यको दर्ता तथा स्वागत हुनेछ । भोलि बिहान ११ बजे सिंहदरबार अगाडिको एउटा पार्टी प्यालेसमा बैठकको उद्घाटन हुनेछ ।

त्यस्तै उद्घाटन समारोह समापनलगत्तै त्यही ठाउँमा बन्दसत्र सुरु हुने र त्यसपछि पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्दसत्रको छलफल चल्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । कांग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न आज देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो ।

महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरिएको थियो । समितिले आफ्नो जिम्मेवारीका काम अन्तिम चरणमा पुगको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव समिति र महामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा साङ्गठनिक प्रस्ताव समिति गठन गरिएको थियो ।

यस्तै अर्का महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा, सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा समग्र आर्थिक नीति प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन र काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) को संयोजकत्वमा काठमाडौँ उपत्यकाका तीनै जिल्ला कार्यसमिति रहने गरी स्थानीय व्यवस्थापन समिति गठन गरेको थियो ।

विधान मस्यौदाका सम्बन्धमा मङ्सिर १३ देखि २२ गतेसम्मको केन्द्रीय समिति बैठकमा निरन्तर छलफल भए पनि प्रतिवेदन पारित हुन सकेको छैन । विशेषगरी पदाधिकारी सङ्ख्या बढाउने÷नबढाउने, पदाधिकारी निर्वा्चित हुनुपर्ने वा मनोनयन हुनेलगायत विषयमा बहस जारी छ । आर्थिक नीति केन्द्रीय समितिबाट पारित भइसकेको छ भने राजनीतिक प्रस्तावमाथिको छलफल जारी छ ।

केन्द्रीय समितिबाट पारित सबै प्रतिवेदन महासमिति बैठकमा पेश हुने र छलफल गरी पारित हुनेछन् । महासमिति बैठकमा महासमिति सदस्य तथा केन्द्रीय समिति गरी करीब १४ सय नेता कार्यकर्ता सहभागी हुने पार्टी कार्यालयले जनाएको छ ।