१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आठ हजार सवारी पञ्जीकरण

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०७५, शुक्रबार १२:२६

काठमाडौं । यातायात व्यवस्था विभागमा पञ्जीकरण हुने सवारीको सङ्ख्या आठ हजारमात्र रहेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म पञ्जीकरण नहुने सार्वजनिक यातायात आगामी पुस १ गतेदेखि गुड्न नपाउने विभागले मङ्सिर २२ गतेसूचना प्रकाशित गरी जानकारी गराएको थियो । विभागमा पञ्जीकरण हुन तोकिएको आठ महीनाको अवधिमा तीन हजार कम्पनीका आठ हजार सवारीको मात्र अभिलेख आएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ साल भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो । यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत १८ गते निर्देशिका समेत जारी गरेको थियो ।

कम्पनीमा दर्ता भएर विभागमा पञ्जीकरण नभएका सवारी सडकमा गुडे नियन्त्रणमा लिइने विभागले जनाएको छ । यसअघि सङ्घ संस्था ऐनअनुसार सामाजिक संस्थाका रुपमा दर्ता भएका यातायात समितिलाई गत साउनदेखि नै नवीकरण बन्द गरिएको थियो । सवारी कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गरेपछि यातायात एकाधिकार हट्ने विश्वास गरिएको छ ।

यसअघि गत असारसम्म २९२ यातायात समितिमा दुई लाखभन्दा बढी सवारीसाधन आबद्ध थिए । सवारी कम्पनीमा दर्ता नभई सञ्चालन हुँदा यात्रुले दुःख पाउने गरेका छन् । यातायात सुधार अभियानमा लाग्नुभएका रामबहादुर थापाले विभागको अलमलका कारण थोरै सवारीमात्र पञ्जीकरण भएको बताउनुभयो ।