७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल–कोरिया बृहत् साहित्य–संस्कृति सम्मेलन हुने

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७३, सोमबार ०६:५०

काठमाडौँ । नेपाली लेखक संघ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यिक एवं सांस्कृतिक आदान–प्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबीच संघका अध्यक्ष श्रवण मुकारुङ र फोरमका महासचिव दाइकी जुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापत्रमा उल्लेख गरिएअनुसार आगामी फ्रेबु्रअरीको दोस्रो साता काठमाडौँमा दुई देशीय बृहत् साहित्यिक एवं सांस्कृतिक सम्मेलनको आयोजना गरिने छ । उक्त सम्मेलनमा कोरियाबाट सांसद्, प्राज्ञ, कवि, लेखक, चित्रकार, संस्कृतिविद्, व्यावसायी गरी करिब दुई सय जना सहभागी हुने छन् ।
तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाली तथा कोरियाली साहित्य, संस्कृति, दर्शन, इतिहास, कला तथा पर्यटनबारे दश कार्यपत्र प्रस्तुत गरिने छ भने नेपाल र कोरियाका चुनिएका विशिष्ट कविहरुले कविता प्रस्तुत गर्नेछन् । संघका अध्यक्ष मुकारुङका अनुसार उक्त सम्मेलनमा दुवै देशका सय चित्रकारका कलाकृति प्रदर्शन गरिनुका साथै लोकसंस्कृतिको प्रस्तुति रहनेछ ।
सो अवसरमा नेपाल र कोरियाका चुनिएका साठी कविका एक सय बीस कविता, सात–सात कथा तथा पाँच–पाँच उपन्यासहरुको अनुवाद पनि प्रकाशन गरिने छ । सङ्कलनमा नेपालतर्फका विशिष्ट साहित्यकार वीपी कोइराला, पारिजातदेखि अहिलेको पुस्ताका प्रतिनिधि स्रष्टासम्मलाई समेटिने छ । सम्झौताअनुसार आगामी जुलाईमा सो सम्मेलनको दोस्रो संस्करण कोरियामा आयोजना गरिने छ ।