७ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०७५, शनिबार ०८:५५

काठमाडौं । भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेका छन् । सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्र्याएपछि हराएको भनिएको तस्करीको साढे ३३ किलो सुन नै भारतको कलकत्तामा फेला परेको आशंका गरिएको छ ।

साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको समितिले भारतमा सुन बरामद भएको सूचना पाएपछि अनुसन्धान थालेको छ । स्रोतका अनुसार पक्राउ पर्नेमा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा रहेका छन् । उनीहरुको कारबाट सुन बरामद भएको जनाइएको छ ।

दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा भेटिएको पुष्टि गर्दै गृह मन्त्रालय स्रोतले भन्यो, ‘सुन भेटिएको भन्ने आएको छ, धरान–इटहरीका बासिन्दाबाट नै उक्त सुन बरामद भएको सूचना आएको हुनाले उक्त सुन पहिल्यै भित्रिएको र गायब भएको भनिएको साढे ३३ किलो सुन हुनसक्ने आशंका छ ।’

कलकत्ता प्रहरीले बरामद गरेको सुन ‘गोरे’ समूहको हो या होइन भन्नेबारे भेरिफाई गर्ने काम भइरहेको स्रोतले जानकारी दिएको छ । उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ को नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल सुनको अवैध कारोबार गरेको सुन समितिको दाबी थियो । छानबिन समितिले सो प्रकरणमा ९ प्रहरी अधिकारीसहित ६३ जना भन्दा बढीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो । सो मुद्दा अहिलेपनि अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।