४ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाली विमानबाट विदेश यात्रा गर्नेको बीमा १ करोड ६० लाख

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०७५, शनिबार ०९:०६

काठमाडौं । हवाई यात्रुको विमा सम्वन्धी अन्तर्राष्ट्रिय मोन्ट्रियल महासन्धि नेपालमा पनि कार्यान्वयनमा आएको छ । सरकारले केही महिनाअघि अनुमोदन गरेको महासन्धि गएरातिबाट कार्यान्वयनमा आएको हो । महासन्धि नेपालमा दर्ता भएका र अन्तराष्ट्रिय उडान गर्ने विमान कम्पनीहरूका हकमा लागु हुने बताइएको छ ।

महासन्धि कार्यान्वयनमा आएपछि विमान दुर्घटनामा यात्रुको मृत्यु भएमा २० हजार अमेरिकी डलर पाउने हालको व्यवस्थामा परिवर्तन भएर उक्त रकम झण्डै १ लाख ६० हजार अमेरिकी डलर अर्थात १ करोड ६० लाख नेपाली रुपैया भएको छ । यसका अतिरिक्त विमान कम्पनीको लापरवाहीका कारण दुर्घटना भएमा उक्त रकमभन्दा धेरै रकम पाउने व्यवस्था समेत महासन्धिमा गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

मृतक यात्रुका आफन्त अदालत गएमा बीमा रकम अदालतको आदेश अनुसारको हुनेछ । जहाजमा रहेको कार्गो सामान नष्ट भएमा प्रतिकेजी २४ डलर र यात्रुको सामान नष्ट भएमा १४ सय डलरको व्यवस्था उक्त महासन्धिले गरेको छ ।

उडानमा हुने ढिलाइबापत पनि क्षतिका लागि ६ हजार डलर व्यवस्था गरिएको भए पनि त्यो कसरी लागु गर्ने भन्नेमा अन्यौल रहेको छ । नेपालमा नेपाल वायुसेवा निगम, हिमालय एयर र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।