१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस महासमिति बैठक : कसले के भने ?

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०७५, शनिबार १३:०२

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक शनिबारदेखि काठमाडौंमा शुरु भएको छ । रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा आयोजित भव्य समारोहमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा जल सेचन तथा दीप प्रज्वलन गरेर बैठकको उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरियो ।

उद्घाटन समारोहपछि सुरु हुने महासमिति बैठकमा आर्थिक, सांगठनिक र राजनीतिक प्रतिवेदन पेश हुने छ । पार्टीको विधान पनि महासमिति बैठकमा छलफलका लागि पेस गरिनेछ । बैठकमा मुलुकभरबाट निर्वाचित महासमिति सदस्य तथा जिल्ला सभापतिहरु, भातृ र शुभेच्छुक संस्था, मनोनति महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रनिनिधि, निर्वतमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी १ हजार ७ सय जना प्रतिनिधि सहभागी छन् ।

कांग्रेसले देशलाई बदल्ने सामर्थ्य राख्छ : प्रवक्ता शर्मा
बैठकमा स्वागत मन्तव्य राख्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट पार्टीको आलोचना गरे । उनले नेपाली कांग्रेसले कार्ल मार्क्सले छोडेको दर्शन नबोकेको प्रष्ट पारे । ‘कार्ल मार्क्सले रोगको पहिचान गर्ने प्रयत्न गर्नुभयो । मेडिसिन प्रेस्क्राइब गर्नेमा रित्तो पन्ना छोडेर जानुभयो । दुनियाँभरका कम्युनिस्टहरुले अनेक प्रकारले मेडिसिन लेख्दा सिंगो दुनियाँले दु:ख पायो । कांग्रेस त्यो मार्क्सले छोडेर गएको दर्शन होइन, कांग्रेस जननेता बिपी कोइरालाले छोडेर गएको लोकतान्त्रिक समाजवादमा विश्वास गर्छ’, उनले भने ।

शर्माले बिपीले प्रस्तुत गरेको लोकतान्त्रिक समाजवादमाथिको विश्वासको बाटोबाट देशलाई बदल्ने सामर्थ्य राख्ने बताए । शर्माले सरकारको पनि आलोचना गरे । सपनाको स्वर्ग नै भेटिन्छ भनेर कम्युनिष्टलाई मत दिएका हजारौं नेपालीले सरकार नभेटेको उनले आरोप लगाए ।

पद र गुटभन्दा माथि उठेर पार्टीलाई अघि बढाउन सक्नुपर्छ : महत
कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले महासमिति बैठकले एकताको सन्देश दिन सक्नुपर्ने बताएका छन् । बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य महतले विना पूर्वाग्रह आन्तरिक समीक्षा गर्दै सबैमा आशा जगाउने गरि महासमिति बैठकले एकताको सन्देशसहित ठोस रणनीति बनाउन सक्नुपर्ने बताए ।

प्रतिपक्षी दलको भूमिकामा पनि विगतको तुलनामा कांग्रेस निकै कमजोर अवस्थामा आइपुगेको भन्दै आत्मसमीक्षासहित विगतको गल्ती सच्याएर पार्टीलाई एकढिक्का बनाएर लैजान सक्नुपर्ने बताए । पद र व्यक्ति तथा गुट भन्दा माथि उठेर पार्टीलाई अघि बढाउन सक्नुपर्नेमा उनको जोड छ ।

वर्तमान सरकारबाट निरास बनेकालाई आशा जगाउने गरि महासमिति बैठकले रणनीति बनाउनुपर्ने तर्क पनि उनले गरे । उनले पुनः सत्ताको नेतृत्वमा पार्टीलाई पुर्‍याएर मुलुकलाई सम्मुन्नत विकासको बाटोमा लैजानका लागि पार्टी भित्र पुर्नजागरणको अभियान चलाई सुदृढ र शक्तिशाली बनाउनुपर्ने उल्लेख गरे ।

सत्तालाई तह लगाउने जिम्मेवारी कांग्रेसको : सिटौला
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले महासमिति सदस्यहरुलाई आफ्नो मनमा लागेका कुराहरु खुलेर राख्न आग्रह गरेका छन् । बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमहामन्त्री सिटौलाले केन्द्रले प्रस्तुत गरेका एजेण्डामा आफ्ना मत राख्न आग्रह गरेका हुन् । चुनावपछि विभिन्न जिल्लामा जाँदा नेता कार्यकर्ताले धेरै गुनासो पाएको भन्दै उनले भने, ‘महासमिति सदस्यहरुलाई म आग्रह गर्छु, मलाई जे भन्नु भएको थियो, मनमा लागेको खुलेर बोल्नुस् ।’ नेता कार्यकर्ताले मनमा लागेको कुरा भने नेतृत्वले आफूलाई सच्याउने मौका पाउने उनले बताए ।

सिटौलाले बहुमत प्राप्त कम्युनिष्ट सरकार एक वर्षकै अवधिमा साह्रै अलोकप्रिय भएको बताए । चुनाव जितेपछि जनतालाई पुरस्कृत गर्नुपर्नेमा विभिन्न नाममा दण्डित गरेकाले यो अवस्था आएको उनले बताए । ‘सरकार जनताको साथमा छैन, कम्युनिष्ट पार्टीको निश्चित घेरामा छ’ उनले भने । सरकार संविधानको सीमामा नबसेको भन्दै उनले सत्तालाई तह लगाउने जिम्मेवारी कांग्रेसको भएको बताए ।

हरेक पदाधिकारीहरु महाधिवेशनबाटै निर्वाचित हुनुपर्छ : नेता केसी
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले महासमिति बैठकले पार्टीलाई गुट उपगुटबाट माथि उठाउन सक्नुपर्ने बताएका छन् । केसीले गुटउपगुटको अन्त्य नभएसम्म कम्युनिष्टसँग लड्न नसकिने भन्दै विगतमा भएका गल्तीबारे विना पुर्वाग्रह समिक्षा गरिनुपर्ने बताए । गुटउपगुट भन्दा पनि विधि, नीति र संस्थागत निर्णय गर्ने आधारशिला तयार हुनुपर्नेमा उनले जोड दिए ।

विवेक बन्दकी नराखी लोकतान्त्रिक पद्धतिबाट साझा निर्णयमा पार्टीको नेतृत्व जानुपर्ने उल्लेख गर्दे उनले महासमितिका सदस्यहरुबाट नेता होइन नीति, व्यक्ति होइन विचार र शक्ति होइन सत्यको पछाडि लाग्छु भन्ने संकल्प सहितको प्रतिवद्धता आउनुपर्ने बताए । स्वइच्छाचारी ढंगले पार्टी चल्न नसक्ने भन्दै उनले हरेक पदाधिकारीहरु महाधिवेशनबाटै निर्वाचित हुनुपर्ने पद्धति बसाल्नुपर्ने बताए ।