११ बैशाख २०८१, मंगलवार
Follow Us

पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीन जनाको अबस्था अझै अज्ञात

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७३, सोमबार ०७:३३

काठमाडौं । दुर्घटनापछि त्रिशुली नदीमा वेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीन जनाको अवस्था अझै अज्ञात छ । आइतबार साँझ ५ बजे चितवनको कुरिनटार नजिकै घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको स्कोर्पियोमा सवार उनीहरुको खोजी जारी छ । बिहानैदेखि दुई वटा राफ्टको सहयोगमा गाडी तथा बेपत्ताको खोजी गरिएको हो । त्रिशुली नदीमा हराइरहेको जीपमा पूर्वमन्त्री घिमिरेसहित उनका भाइ मोहन र प्रकाश छन् । खसेको स्थानमा गाडी नभेटिएपछि बगाएको आशंकामा केही तलसम्म खोजी जारी राखिएको छ । त्रिशुलीमा पानीको वहाब बढेकाले खोजीमा समस्या भएको छ । गाडी त्रिशुलीमा खस्दा मृत्यु भएका तीन जनाको भने सनाखत भइसकेको छ । घिमिरेकी आमा ८० वर्षकी चैतन्यकुमारी घिमिरे, सशस्त्र प्रहरी बलका सई रामचन्द्र कार्की र नारायणप्रसाद काफ्लेको शव आइतबारै भेटिएको हो । गाडीका चालक विष्णु राई भने घाइते छन् । पूर्व मुख्य सचिवसमेत रहेका घिमिरे खिलराज रेग्मी अध्यक्षताको मन्त्रिपरिषद्मा गृहमन्त्री थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको त्रिशूली नदीमा जिप खसेर बेपत्ता भएको घटनाले आफू स्तब्ध भएको बताउनुभएको छ ।
बेपत्ता खोजी गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री दाहालले ट्वीटरमार्फत घिमिरेको सवारी दुर्घटनामा परेको खबरप्रति स्तब्ध भएको भन्दै खोजीका लागि प्रशासनलाई निर्देशन दिएको उहाँका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले राससलाई जानकारी दिनुभयो ।
त्रिशूली नदीमा बेपत्ता घिमिरेसहित तीन जनाको खोजी गर्न सबै संयन्त्र परिचालन गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिनुभएको छ । आज अपराह्न मुग्लिनहुँदै काठमाडौँतर्फ आउँदै गरेको घिमिरे चढेको बा ९ च १५३१ नंको स्करपियो गाडी चितवनको दाह्रेचोकमा दुर्घटना भई त्रिशूली नदीमा खसेको थियो ।