१३ बैशाख २०८१, बिहीबार
Follow Us

सरकारले जग्गा दिए एनआरएनएले डेढ अर्वको आधुनिक कृषि बजार निर्माण गर्ने

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७५, शनिबार २०:४३

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आधुनिक कृषि बजार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । एनआरएनको टोलीले शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवलाई मन्त्रालयमा भेटेर जग्गा उपलब्ध गराइदिन आग्रह गरेको हो ।

एनआरएनले काठमाडौंमा कृषिजन्य पदार्थको प्रोसेसिङ सेन्टर र काठमाडौं बाहिर कलेक्सन सेन्टर निर्माण गर्ने जनाएको छ । त्यसका लागि प्रयोगमा नरहेको ५० रोपनीभन्दा बढीको सरकारी जग्गा २० वर्षका लागि लिजमा उपलब्ध गराउन मन्त्री खनालसँग आग्रह गरेको हो ।

एनआरएन कृषि प्रवर्द्धन समितिका संयोजक युवराज गुरुङले एकदेखि डेढ अर्व रुपैयाँ लगानी गर्ने गरी ७ जनाको विज्ञ टिमले आर्थिक प्रतिवेदन तयार गरिरहेको जानकारी दिए । कलेक्सन सेन्टरका लागि काठमाडौं बाहिर प्रदेश १ को सरकारसँग छलफल गर्ने उनले बताए ।

जवाफमा मन्त्री खनालले प्रस्ताव उपयुक्त रहेको भन्दै प्रधानमन्त्रीसँग पनि आफूले छलफल गर्ने जानकारी दिए । एनआरएनलाई सहज हुने गरी कार्यविधि निर्माण गरिने मन्त्री खनालको भनाइ छ । काठमाडौंमा जग्गा अभाव रहेको भन्दै सहकारी र केही कम्पनीहरुले पनि तरकारीको आधुनिक बजारका लागि जग्गा खोजिरहेको खनालले जानकारी दिए । भेटमा एनआरएन उपाध्यक्ष कुल आचार्य पनि सहभागी थिए ।