१२ बैशाख २०८१, बुधबार
Follow Us

शीर्ष नेताहरुबीचमै धम्की र घुर्की

sarusaru
१ पुष २०७५, आईतवार ०४:३२

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीभित्र सांगठानिक एकता प्रक्रियालाई लिएर सुरु भएको विवादको कारण शीर्ष नेताहरु विभाजित बनेका छन्। पार्टी एकता भएपछि दोस्रो पटक बसेको स्थायी समितिको बैठकमा पनि पार्टी अध्यक्षद्धय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि नेता वामदेव गौतमले फरक दस्तावेज पेश गरेका छन्।

प्रदेश कमिटीको एकता प्रक्रिया टुंगो लगाएसँगै शीर्ष नेताहरुबीच विवाद चर्किदै गएको छ। शनिवारबाट सुरु भएको उक्त पार्टीको स्थायी समिति बैठकमा प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजनाका विषय समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले देशको वर्तमान राजनीतिक परिस्थिति र बैठकको महत्वको विषयमा आफ्नो धारणा राखेका थिए भने अर्का अध्यक्ष प्रचण्डले सांगठानिक कार्यभार, पार्टी सञ्चालन, सरकारको समीक्षा र पार्टीको नयाँ कार्ययोजना तयार गर्ने विषयमा केन्द्रीत रहेर राजनीतिक प्रतिवेदन तयार पारिएको बैठकलाई जानकारी गराएका थिए।

२२ पृष्ठ लामो राजनीतिक प्रतिबेदन अध्ययन गर्न सदस्यहरुलाई आइतबार एक दिनको समय दिइएको छ। प्रवक्ता श्रेष्ठले सोमबारदेखि बैठकमा सदस्यहरुले अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय रहेर आफ्नो धारणा राख्ने जानकारी दिए।

बैठकमा नेता गौतमले छुट्टै प्रतिवेदन पेश गरेका छन्। प्रवक्ता श्रेष्ठका अनुसार गौतमले प्रस्तुत गर्नुभएको प्रतिवेदन पनि स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ।

स्थायी कमिटि बैठक सुरु भएसँगै नेकपाका नेताहरुबीच आलोचना, धम्की र घुर्की पनि सुरु भएको छ। अध्यक्षद्धयको विरुद्ध वरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ उभिएका छन् । पार्टी एकताको प्रक्रिया अगाडि बढिरहेको बेला अध्यक्षद्धयले प्रस्तुत गरेको प्रतिवेदनको विरुद्ध नै फरक दस्तावेज दर्ता भएपछि नेकपाभित्र विवाद थप चुलिएको हो।

यसैगरी पार्टी प्रवक्तामार्फत सार्वजनिक हुँदै आएको बैठकको निर्णयको विरुद्ध महासचिव विष्णु पौडेलले बैठकबारे विज्ञप्तीमार्फत जानकारी गराएका छन्।

महासचिव पौडेलद्धारा जारी विज्ञप्तिमा २२ पृष्ठ लामो उक्त प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महिना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलहरुको भूमिका, केन्द्रीय सचिवालयहरुको निर्णयहरुको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार शीर्षकमा चर्चा गरिएको बताइएको छ।

उनका अनुसार अध्यक्षद्वयले पार्टीका सामुन्ने ऐतिहासिक अवसरहरु प्राप्त भएको, नेपाली जनताले पार्टीलाई अभुतपूर्व विश्वास गरेको, वर्तमान अवस्थामा पार्टीलाई भावनात्मक रुपले अझै बढी एकताबद्ध बनाउँदै ऐतिहासिक अभिभाराहरु पूरा गर्न सामूहिक ढंगले पहल गर्नुपर्ने कुरामा जोड दिए।
बैठकले हालै नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनाबाट ठूलो मानवीय क्षति भएकोप्रति गम्भीर दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा मृत्यु हुने सबैप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारमा समवेदना प्रकट गरेको छ।

यस्तै केही दिनअघि पाल्पा, डोटी, दाङलगायतका देशका विभिन्न भागमा भएका सडक दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ती घटनाका मृतकहरुप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरेको छ । महासचिव पौडेलका अनुसार शनिबार बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि अध्ययन गरी छलफल गर्न अर्को बैठक पुस २ गते सोमबार बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ।
नेपाल समाचारपत्र दैनिक