८ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेसमा अब ९ पदाधिकारी

नेपालब्रिटेन संवाददाता
२ पुष २०७५, सोमबार ०५:१८

काठमाडौं । नेपाली कांग्रेसमा प्रवक्तासहित ९ पदाधिकारी राख्न नेताहरु सहमत भएका छन् । तर, निर्वाचन पद्धतीबारे सहमति जुट्न सकेको छैन । महासमिति बैठकमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल चलिरहँदा महामन्त्री पूर्णबहादुर खड्कासहितका नेताहरुले विधानका विवादित विषयमा सहमतिको प्रयास जारी राखेका छन् ।

उपसभापति, महामन्त्री र सहमहामन्त्री २–२ जना राख्न नेताहरु सहमत भएका हुन् । सभापतिसँगै कोषाध्यक्ष र प्रवक्ता भने एक–एक जना मात्र रहनेछन् । तर, निर्वाचन पद्धतीमा सहमति जुट्न बाँकी छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षधरका नेताहरु निर्वाचित पदाधिकारीको संख्या बढाउने पक्षमा छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने सबै निर्वा्चित हुनुपर्ने मत राखेका छन् । आज विहान बस्ने केन्द्रीय कार्यसमितिको बैठक अगाडि सहमति जुट्ने नेताहरुको दाबी छ ।

८ पदाधिकारी राख्ने सहमति भएको हो भन्ने प्रश्नमा छलफलमा सहभागी केन्द्रीय सदस्य मिनेन्द्र रिजालले भन्नुभयो, पदाधिकारी संख्यामा समस्या छैन । निर्वाचन पद्धतीमा सहमतिको कोशिष गर्दैर्छौं ।’

महामन्त्री खड्का नेतृत्वको विधान मस्यौदा समितिले पदाधिकारी नबढाउने प्रस्ताव राखेको थियो । तर, वरिष्ठ नेता पौडेल र कृष्ण सिटौला पक्षका नेताहरुले भने पदाधिकारी बढाउनुपर्ने र सबै निर्वाचित हुनुपर्ने भन्दै फरक मत राखेका छन् ।

कांग्रेसमा विधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिन्छ । केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत प्रस्ताव नगए विधान पारित गर्न चाहिने दुई तिहाई पुग्ने अवस्था छैन । त्यसैले नेतहरुले सुरुदेखि नै सहमतिको प्रयास गर्दै आएका छन् ।

वरिष्ठ नेता पौडेलले उपसभाति, महामन्त्री र सहमहामन्त्री ३–३ तथा महामन्त्री शशांक कोइरालाले २–३–४ बनाउने प्रस्ताव राख्नु भएको थियो । तर, सभापति देउवाले सभापति र कोषध्यक्ष बाहेक तीन पद २–२–२ बनाउने प्रस्ताव गर्नु भयो । अहिले त्यसमै सहमति भएपनि निर्वाचन पद्धतीमा भने छलफल जारी रहेको नेताहरुले बताएका छन् ।