१३ बैशाख २०८१, बिहीबार
Follow Us

इटालियन कम्पनीका आठ विदेशीको पासपोर्ट जफत

नेपालब्रिटेन संवाददाता
२ पुष २०७५, सोमबार १३:४७

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण आयोजना प्रमुख क्रिश्चियानो ग्रेसोसहित ८ जनालाई प्रहरीले पक्राउ गरी पासपोर्ट जफत गरेको छ । निर्माणको काम अलपत्र पारेर भाग्न लागेको सूचना पाएपछि गृहमन्त्रालयले पक्राउका लागि नेपाल प्रहरीलाई निर्देशन दिएको थियो । अहिले कुनै पनि कामदारलाई बाहिर जान नदिने र सामान यताउता गर्न नदिन प्रहरी परिचालन गरिएको आयोजना स्रोतले बताएको छ ।

इटालियन ठेकेदार कम्पनी टाँट उल्टेको पत्ता लागेको छ । यो घटना सार्वजिनक हुन नपाउदै यसका कर्मचारीहरु आयोजनास्थलबाट गायब भएका छन् । क्रिसमसको बिदाका निहुमा उनीहरु गायव भएका हुन् । अहिले आयोजनास्थलमा कामदार मात्र छन् ।

हालसम्म जति काम सम्पन्न भएको छ त्यो भन्दा करिव बढी रकम पेश्की लिइसकेका कारण उनीहरुलाई भाग्न नदिन सरकारले पक्राउ गरेको बुझिएको छ । केही दिनअघि मात्र कुवेतमा काम गरिरहेको यो कम्पनीका अधिकारीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।

समाचारस्रोतका अनुसार क्रिसमस मनाउन घर जाने भन्दै आयोजनास्थलबाट बाहिरिएर काठमाडौंका विभिन्न होटलमा बसेका बेला उनीहरु भाग्दैछन् भन्ने सूचना सरकारले पाएको थियो । उनीहरुलाई होटलबाटै पक्राउ गरिएको महानगरीय प्रहरी अपराध अनुसन्धान शाखाका एसएसपी धीरजप्रताप सिंहले बताए ।

सुरुङ निर्माणको काम सम्पन्न हुन २७ किलो मिटरमध्ये अब १ हजार ७ सय मिटर मात्रै बाँकी रहेको जनाइएको थियो । तर सुरङभित्रै निर्माण गरिनु पर्ने तीन बालुवा थिग्रयाउने ३ वटा पोखरीको काम अझै सुरु नगरिएको आयोजनाका कर्मचारीहरु बताउँछन् । उक्त काम सम्पन्न हुन निर्माण सुरु भएको मितिले कम्तिमा १ वर्ष लाग्ने बताइन्छ ।

बालुवा थेग्रयाउने पोखरी निर्माण नगरी पानी प्रवाह गर्दा सुरुङको पिँधमा बालुवा जम्माहुन गई एक दुई वर्षमै समस्या आउने र वालुवा सफा गर्न एक महिना पानी आपुर्ति बन्द गर्नुपर्ने आयोजनाका प्राविधिकहरु बताउँछन् । एक महिना पानी आपुर्ति बन्द गर्दा काठमाडौंमा हाहाकार मच्चिने भएकोले बालुवा थिग्रयाउने पोखरी निर्माण गरेर मात्रै पानी आपुर्ति गर्नुपर्ने सुझाव धेरैको थियो । यही बिवादबीच ठेकेदार कम्पनीका अधिकारीहरु भाग्न लागेको हुनसक्ने अनुमान गरिएको छ ।