८ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेस पदाधिकारीमा सहमति: संख्या देउवाको, पद्धति पौडेलको

नेपालब्रिटेन संवाददाता
३ पुष २०७५, मंगलवार १६:२७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा पार्टी पदाधिकारीको संख्या र निर्वाचन पद्दतीका बारमा सहमति जुटेको छ । प्रस्तावित विधानका विभिन्न विकल्पहरु माथि भएको छलफलपछि कोषाध्यक्ष बाहेक सभापतिसहित २ उपसभापति, २ महामन्त्री र २ सहमहामन्त्री निर्वाचनबाट चयन हुने सहमति भएको छ । कोषाध्यक्ष र प्रवक्ता भने सभापतिले मनोनयन गर्ने नयाँ व्यवस्था गरिएको छ । छलफलमा विभिन्न विकल्प आएपछि अन्तत उपसभापति २, महामन्त्री २ र, सहमहामन्त्री २ मा सहमति जुटेको हो । पदाधिकारीको संख्या पार्टी सभापति शेरबहादुर देउवाले अघि सारेको प्रस्ताव हो भने निर्वाचन पद्धतिमा भने नेता रामचन्द्र पौडेलको अडानमै सहमति गरिएको हो ।

अहिलेको विधानमा सभापतिसँग एक महामन्त्री र कोषाध्यक्ष मात्र निर्वाचित हुने व्यवस्था थियो । उपसभापतिसँगै एक महामन्त्री, सहमहामन्त्री भने सभापतिले मनोनित गर्ने र केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने व्यवस्था थियो । पछिल्लो पटक फोरम लोकतान्त्रिकसँग भएको राजनीतिक सहमतिका आधारमा एक उपसभापति थपिएको थियो ।

सभापति देउवा पक्ष अर्थात उनी निकटहरुले सभापति बाहेक दुई दुई जना उपसभापति, महामन्त्री र सहमहामन्त्री राख्ने त्यस मध्ये एक एक जना निर्वाचित हुने र एक एक जना मनोनित हुने प्रस्ताव गरेका थिए । तर देउवा इतर नेताहरुले भने पदाधिकारी संख्या तीन तीन जना हुनुपर्ने तथा ती सबै पदाधिकारी निर्वाचनबाट चयन हुनुपर्ने प्रस्ताव गरेका थिए ।

मंगलवार पुस ३ गतेसम्मका लागि तय भएको बैठकमा पार्टी सङ्गठन, प्रस्तुत प्रतिवेदन र सरकारका काम कार्वाहीलगायत समसामयिक विषयमा छलफल जारी रहेको र सहमतिको विधान महासमिति बैठकबाट पारित गर्नु पर्ने भएकाले लम्बिने प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ छ । महासमिति बैठक भोली पुस ४ गतेसम्म हाल भइरहेको यगम्बर पार्टी प्यालेसमा हुने छ भने त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने पार्टी कार्यालयले जनाएको छ । त्यसका लागि पार्टी कार्यालयले टेन्ट टाङ्नेलगायत आवश्यक तयारीसमेत गरिरहेको बुझिएको छ ।

केन्द्रीय समिति १६१ सदस्यीय, ३३ प्रतिशत महिला
अब केन्द्रीय कार्यसमिति १६१ सदस्यीय हुनेछ, जसमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । साथै जातीय क्लस्टरहरु पनि मिलाइने भएको छ । शीर्ष तहमा भएको यो सहमतिलाई भोलि १२ बजे बस्ने केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नेछ र विधान संशोधन प्रस्तावलाई महासमिति बैठकमा पेश गरिनेछ

यता नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा बोल्ने अधिकांश सहभागीले पार्टीमा भागबण्डा अन्त्य गरी सशक्त पार्टी बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । महासमिति बैठकको चौथो दिन राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफल जारी छ । विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले सो प्रतिवेदन अझै पेश हुन सकेको थिएन ।