१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस महासमिति बैठक : प्रस्तावित विधान भोलिमात्र प्रस्तुत हुने

नेपालब्रिटेन संवाददाता
४ पुष २०७५, बुधबार ०५:४८

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पार्टीको प्रस्तावित विधान भोलिमात्र प्रस्तुत हुने भएको छ । विधान मस्यौदा कार्यदलले प्रस्तावित विधानमा हिजो साँझमात्र सहमति जुटाएकाले त्यसलाई छापेर ल्याउन समय लाग्ने भएपछि महासमितिमा भोलिमात्र प्रस्तुत हुने भएको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज बस्ने केन्द्रीय समितिले पास गर्ने विधान भोलि बस्ने महासमिति बैठकमा मात्र प्रस्तुत हुने जानकारी दिए । निकै लामो बहस र छलफलपछि शीर्ष नेताहरुबीच पदाधिकारीको संख्या र चयन प्रक्रिया तथा केन्द्रीय कार्यसमितिको संख्यामा सहमति जुटेको हो ।

विधानमा सभापति, २ उपसभापति, २ महामन्त्री, २ सहमहामन्त्री र कोषाध्यक्ष गरी ८ पदाधिकारी राख्न नेताहरु सहमत भएका छन् । कोषाध्यक्षबाहेक सवै पदाधिकारी महाधिवेशनबाट निर्वाचित भएर आउने सहमति जुटेको छ ।

विधानमाथि सहमति जुट्न ढिलाई भएपछि मंसिर २८ देखि पुस ३ गतेसम्मका लागि बोलाइएको महासमिति बैठक एक दिन ढिला सुरु भएर अझै सकिएको छैन । सिंहदरबार अगाडिको एक पार्टी प्यालेस आजसम्मका लागि मात्र बुक भएकाले महासमितिको बाँकी छलफल तथा बन्दसत्र भोलिबाट ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा हुने कांग्रेसले जनाएको छ ।

जारी महासमितिको बैठकमा आज भने यसअघि प्रस्तुत गरिएका चारवटा प्रतिवेदनमा छलफल भइरहेको छ । राजनीतिक, संगठनात्मक, आर्थिक नीतिसम्बन्धी र पार्टीको आन्तरिक आय–व्ययसम्बन्धी प्रतिवेदनमा आज छलफल भइरहेको हो ।