११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाली सेनाले ७ अर्बको हतियार किन्दै

नेपालब्रिटेन संवाददाता
४ पुष २०७५, बुधबार ०८:४९

काठमाडौं । नेपाली सेनाले ६ अर्ब ९० करोड बराबरको हतियार खरिद गर्ने भएको छ । हतियार अमेरिकाबाट खरिद गर्ने योजना बनाएको बताइएको छ । सैनिक जवानले प्रयोग गर्ने ६ हजार ४ सय ९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार एम १६ तथा अन्य हतियार र गोलीगठ्ठा खरिदको तयारी छ । तीन अर्ब ४५ करोड चार लाख रुपैयाँ त्यसका लागि छुट्याइएको रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षाका अनुसार सेनाले प्रयोग गरेका पुराना हतियारलाई प्रतिस्थापन गर्दै १० हजार थान एम १६ सिरिजका हतियार खरिदका लागि दुई अर्ब १९ करोड ४१ लाख बजेट विनियोजन भएको छ । यसैबीच सरकारले सेनाका लागि भारतबाट खरिद गरेको सैन्य सामग्रीको तिर्न बाँकी सवा तीन अर्ब तत्काल तिर्ने भएको छ । नेपालले २०६३ पछि हतियार, गोलीगठ्ठा र यातायातका साधन खरिद गरेको ३ अर्ब २१ करोड भारतलाई तिर्न बाँकी छ ।

सैन्य मामिलाबारे काठमाडौंमा बसेको द्विपक्षीय परामर्श समूहको १३ औँ बैठकमा नेपालले तिर्न बाँकी रकम यथाशीघ्र तिर्ने प्रतिबद्धता जनाएको छ । यसअघि सरकारले उक्त रकम मिनाहा गर्न कूटनीतिक च्यानलमार्फत आग्रह गरे पनि भारतले चासो देखाएको थिएन ।