दुई सन्तानलाई राम्रोसँग पाल्न पैसा कमाउन कुवेत पुगेकी मनमाया (परिवर्तित नाम) फर्कदा पैसा होइन साथमा छोरा लिएर फर्कनुभयो । सानैमा बिहे गर्नुभएकी उहाँ श्रीमान्ले मदिरापान गरेर दुःख दिएपछि सन्तानको सुखी भविष्यका लागि कुवेत जानुभएको थियो । दलालले धेरै महिला कामदारलाई जस्तै घुमाउरो बाटो हुँदै उहाँलाई खाडी पु-यायो । श्रीलङ्का हुँदै कतार पुग्नुभएकी उहाँ घरेलु श्रमिकका रुपमा दैनिक १९-२० घण्टा काम गर्नुभयो ।

खटाइ धेरै भए पनि त्यसैका आधारमा उहाँको कमाइ राम्रो नै थियो । आराम गर्नका लागि कम समय भए पनि भने जति तलब पाउँदा उहाँ खुशी नै हुनुहुन्थ्यो । ३० जनाको परिवारका लागि खाना पकाउने, भाडा माझ्ने र कपडा धुनेलगायतका काममा लाग्नुभयो । काम गरेको घरको साहुनीको भाइले बलात्कार गरेपछि उहाँ गर्भवती बन्नुभयो । उहाँले भन्नुभयो, “उसले अरुलाई भनिस् भने नेपाल जान पाउँदिनस् भनेकाले चुपचाप बसिरहेको थिएँ ।”

गर्भवती भएको थाहा पाएपछि साहुनीले अस्पतालमा लगेर शल्यक्रिया गराएको उहाँले बताउनुभयो । चार दिनसम्म अस्पतालमा हुँदा रेखदेख गर्ने कोही भएन । अस्पतालबाट उहाँलाई सिधै प्रहरीले जेल लगे । त्यहाँको जेलमा नै उहाँले साढे तीन महीना काट्नुभयो । रोएर कराएर मलाई नेपाल पठाउनु भन्दै अनुरोध गरेपछि उहाँ त्यहाँबाट छुट्नुभयो । विमानस्थलमा आइपुगे पनि उहाँसँग फर्कन पैसा थिएन । एकजना वृद्ध महिलासँग रोएपछि उनैले टिकट किन्न पैसा दिइन । अहिले नेपालमा आए पनि उहाँ घर र माइती कहीँ पनि जान सक्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “यो बच्चा बोकेर घर र माइती दुवै फर्कन सकिरहेको छैन ।”

मनमाया उदाहरण मात्रै हो अन्तर्राष्ट्रिय आप्रवास दिवस मनाइरहँदा धेरै महिला कामदार न्यायको खोजीमा भौँतिररहेका छन् । कतिपय महिला बलात्कारपछि जन्मेका सन्तान लिएर फर्किएका छन् भने कतिपय दीर्घरोगका शिकार भएर फर्किएका छन् । खाडीमुलुकमा घरेलु श्रमिकका रुपमा जानेमध्ये कतिपय श्रीमान्लगायत परिवारका सदस्यबाट हिंसा भोगेकाले अन्तिम विकल्प वैदेशिक रोजगारी बनाएका थिए । उनीहरुमध्ये कतिपय महिला उता पुगेर थप पीडित बनेका छन् ।

मनिता (परिवर्तित नाम) चिनजानको महिलाका मार्फत कुवेत पुग्नुभएको थियो । उहाँको १४ वर्षमा बिहे भएको थियो । श्रीमान् कतार गएपछि छोरालाई पढाउने, बढाउने जिम्मेवारी उहाँ एक्लैको भयो । श्रीमान्ले विदेशबाट पैसा नपठाएपछि तीनै महिला (जसलाई उहाँ सानिमा भन्नुहुन्थ्यो) ले आर्थिकरुपमा सहयोग गर्न थालिन । पहिले नपढे पनि जापान पढाउँछु भनेकी ती महिलाले जापान जान धेरै पैसा लाग्ने भन्दै कुवेत पठाउने कुरा गरिन । पैसा कमाएर छोरा सजिलै पाल्न सक्छु भन्दै उहाँ राहदानी बनाउनेलगायतका तयारीमा जुट्नुभयो । यहाँबाट भारत जाँदा ती महिलाले “भारतमा दिदी भिनाजु छन् त्यही जान्छु” भनेर जाँच हुने ठाउँमा झुटो बोल्न सिकाइन । केही समय भारतमै एउटा परिवारका लागि काम गरेपछि मनिता त्यहाँबाट कुवेत पुग्नुभयो । उहाँ भन्नुभयो, “भनेकै ठाउँमा पुगेपछि के न होला भनेको उता पनि केही भएन ।”

मनिता कुवेत पुग्दा एउटा कोठामा बन्धक भएका सात जना महिला र एकजना पुरुष भेट्नुभयो । तीमध्ये एकजना गर्भवती महिलाले उहाँलाई आफूहरु सबै बेचिएर यहाँ आइपुगेको भन्नुभयो । मनिता त्यहाँबाट अनेक बहाना गरेर फुत्कनुभयो र भारत पुग्नुभयो । उहाँको खोजीमा भारत पुगेका माइतीसँगै नेपाल फर्किएर आउनुभयो । अहिले उहाँले दलाललाई पक्राउ गराउन सफल हुनुभएको छ । उहाँले भन्नुभयो, “विदेश गएर पनि केही कमाउन नसके पनि अब दलाल पक्राउ परेकाले उसलाई कारवाही भइदिए हुन्थ्यो भन्ने लागेको छ ।”

दलालले भनेजस्तै पैसा कमाएर भविष्य सपार्ने आशामा विदेश उडेका कामदार फर्किएर तीनै दलाल पक्राउ पर्ने आशा गर्छन् । विदेशमा दुःख पाएर फर्किएका महिला आफूलाई झुक्काएर पठाउने दलाल पक्राउ परेर कारवाही नहुँदा भने झनै दुःखी हुन्छ । कुवेतमा बेचिएकी सुनमाया (परिवर्तित नाम) अहिले दलाललाई कारवाही हुने आशामा काठमाडौँमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “अब यही केही गर्नुपर्छ भन्ने लागेको छ ।”

घरेलु श्रमिकका रुपमा खाडी पुग्दा दुईतीन घण्टा आराम गरेर २०-२१ घण्टासम्म काम गर्दासमेत भने जति तलब नपाउने पीडा उनीहरुले भोगेका थिए । अधिकारका कुरा उठाएकै भरमा कारागारमा पर्ने नेपाली महिला धेरै छन् । कतिपय महिला कामदारले शारीरिक, मानसिक, यौनजन्य हिंसा भोगेर स्वदेश फर्किएका छन् । यहाँबाट एउटा देश भन्दै लगेर अर्काे देश पु¥याउने, भनेकोभन्दा बढी काम र कम तलब नहुँदा उनीहरु पीडित बनेका हुन् ।
–सञ्चिता घिमिरे