१३ बैशाख २०८१, बिहीबार
Follow Us

महासमिति बैठकमा भेदभाव, आजदेखि बैठक सानेपामा

नेपालब्रिटेन संवाददाता
५ पुष २०७५, बिहीबार ०५:४४

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक लम्बिएको छ । पार्टीको विधान संशोधनका बारेमा महासमिति बैठक अगावै केन्द्रीय कार्यसमितिमा सहमति जुट्न नसक्दा बैठक लम्बिएको हो । पुस ३ गते समापन हुने भनिएको बैठक लम्बिएपछि आजदेखि पार्टी कार्यालय सानेपामा बस्दैछ ।

रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा मंसिर २८ गतेदेखि हुँदै आएको बैठक आज विहानदेखि पार्टी कार्यालयमा बस्न लागेको हो । विधान संसोधन प्रस्तावमा सहमति जुटाएर आजको बैठकमा पेश गर्ने कांग्रेसको तयारी छ । तर विधानमा अझै कांग्रेसको शिर्ष नेता तहमा सहमति जुटन सकेको छैन ।

विधानबाहेक अन्य प्रस्तावहरुमाथि पनि ठोस छलफल हुन प्रशस्त समय नपाएको गुनासो कांग्रेसका महाअधिवेशन प्रतिनिधिहरूले गरेका छन । महासमिति बैठकमा बोल्ने अधिकांश सदस्यले केन्द्रीय नेतृत्वहरू गुट उपगुटमा लाग्दा पार्टी कमजोर भएको, पार्टीको तल्लो तहलाई अधिकार सम्पन्न र बलियो बनाउनु जरुरी भएको, निर्वाचनमा मेरा र तेरा भन्दै टिकट वितरण नगरी इमानदार र सक्षमलाई टिकट वितरण गरिनुपर्ने धारणा राखेका छन् ।

महासमिति सदस्यहरुले केन्द्रीय नेतृत्व आआफ्नै स्वार्थमा लिप्त भएको र स्वार्थ नमिल्दासम्म गुटबन्दी गर्ने, केही पद पाए फेरि गुटउपगुट एक हुने चरित्र देखाएको भन्दै आलोचना समेत गरेका छन् ।