१५ चैत्र २०८०, बिहीबार
Follow Us

महासमिति बैठक : १२ जना युवा नेताद्वारा महाधिवेशन माग

नेपालब्रिटेन संवाददाता
५ पुष २०७५, बिहीबार ०८:१२

काठमाडौं । कांग्रेसको जारी महासमिति बैठकमा १२ केन्द्रीय सदस्यहरुले तत्काल १४ औँ महाधिवेशनको माग गरेका छन् । गत चैत वैशाखको केन्द्रीय कार्यसमितिको बैठकमा बाँडिएको ६ जना युवा नेताहरुले बुझाएको ५१ पृष्ठको प्रतिवेदन फेरि महासमिति बैठकमा बाँडेका छन् । उनीहरुले महासमिति सदस्यहरुलाई प्रतिवेदनबारे ५ पृष्ठ लामो व्याख्या पनि गरेका छन् ।

प्रतिवेदनमा कांग्रेसमा अस्तित्व संकट देखिएको र त्यसको मुक्तिको बाटो खोज्न अपिल गरिएको छ । त्यसका लागि कांग्रेसको वैचारिक धरातल स्पष्ट र समयानुकुल हुनुपर्ने आवश्यकता औंल्याइएको छ । ‘वर्तमान कांग्रेस र कांग्रेसीको सबैभन्दा ठूलो समस्या हाम्रो अस्तित्वको संकट हो’, प्रतिवेदनमा भनिएको छ, ‘कांग्रेस र कांग्रेसीका लागि यस अस्तित्वको संकटबाट मुक्तिको बाटो अबको महासमिति बैठकले तय गर्नुपर्छ ।’

युवा नेताहरुको प्रतिवेदनले महासमिति बैठकको आवश्यकता पनि देखाएका छन् । ‘यो बेलामा हामीलाई अत्यावश्यक छ, महासमितिको बैठक । महासमिति एउटा नियमित प्रक्रिया हो, तर यसलाई सामान्य कर्मकाण्डमा मात्र सिमित गरिनु हुँदैन’, प्रतिवेदनमा भनिएको छ, ‘वैचारिक स्पष्टता महासमिति बैठकबाट मात्र प्राप्त अवश्य नहोला तर महासमिति बैठकले यस समस्याको संस्थागत रुपमा पहिचान अवश्य गर्न सक्छ ।’

युवा नेताहरुले मात्रै होइन, कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि २०७६ फागुनमा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । पौडेलले सभापति शेरबहादुर देउवालाई महाधिवेशनको कार्यतालिका नै बनाएर पेश गरेका हुन् । पौडेलले कम्युनिष्टहरुले भन्दै आएको समाजवाद र प्रजातान्त्रिक समाजवादमा कुन सही र उत्तम हो भन्ने विषयमा जताजतै बहस चलाउन आवश्यक भएको पनि बताएका छन् ।

‘नेपाली कांग्रेस यतिखेर इतिहासकै कठिन मोडमा छ । सँगसँगै आज पनि जनताको अपार आशा, अपेक्षा र भरोसाको केन्द्रबिन्दुमा छ । गौरवशाली विगतले प्रदान गरेको जिम्मेवारी, उर्लिदो जनसमर्थनको प्रेरणा र लाखौं कार्यकर्ता एवं शुभेच्छुकको ऊर्जाको जगमा नेपाली काँग्रेसले आफ्नो भावी मार्ग तय गर्न अब ढिला गर्नुहुँदैन’ पौडेलले देउवालाई बुझाएको प्रस्तावमा भनेका छन् ।