१५ चैत्र २०८०, बिहीबार
Follow Us

शीतलहरले मधेशको जनजीवन कष्टकर

नेपालब्रिटेन संवाददाता
५ पुष २०७५, बिहीबार ०८:२७

सिरहा । मौसममा आएको परिवर्तन र चिसो हावाका कारण तराई, मधेशको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहरका कारण बिहानको समयमा लहानलगायत मधेशका बजारमा चहलपहल कम हुन थालेको छ ।

खासगरी गरीब विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न कठिन भएको छ । दलित, गरीब, विपन्न वर्गका समुदाय जाडोबाट बाँच्न परालको ओछ्यान र गोबर गुइठाबाट सल्काएको आगोबाट शरीरलाई न्यानो पारी जीवन बिताइरहेका लहान–२३ का वीरेन्द्र गुप्ताले बताउनुभयो । कपडा पसलमा न्यानो कपडा किन्नेको भीड भएको अवस्थामा न्यानो कपडाको माग बढेपछि व्यापारीले बढी मूल्य लिइ मौकाको फाइदा उठाउने गरेका छन् ।

अस्पतालमा अहिले रुघाखोकी, निमोनियाका बिमारीको भीड रहेको डा सुनील कुशवाहाले बताउनुभयो । सरकारी अस्पतालमा बिरामीको उपचारमा बढी समय लाग्ने भएकाले निजी अस्पताल, क्लिनिकमा बिरामी जाने गरेका छन् । चिसोले जनजीवन प्रभावित हुन थालेसँगै विद्यालय, क्याम्पसमा विद्यार्थी विगतको तुलनामा घटेका छन् ।

बिहानै खुल्ने व्यापारिक पसल र बजार पनि ढिलो खोलिने गरेको छ । साँझपख पनि चिसो झनै बढ्दा गर्दा बजार साँझदेखि नै सुनसान हुने लहान उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोकलाल अमात्यले बताउनुभयो ।

कुहिरो र चिसोले जनजीवन कष्टकर बनाउने गरेको छ । पूर्वी तथा मध्य मधेशका जिल्लामा दुई दिनदेखि चलेको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरिजसो कुहिरो लाग्नाले एक्कासि बढेको चिसोले सिरहालगायत प्रदेश नं १ को गाईघाट, झापा, मोरङ, विराटनगर र प्रदेश नं २ का बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषालगायतका जिल्लामो चिसो हावाले मानिसको चहलपहलमा निकै कमी आएको छ ।

बिहान कुहिरो र शीतलहरले नजिकै देख्न समस्या भएपछि सवारी चालक हेडलाइट बाल्न बाध्य छन् । आज बिहान लहानको तापक्रम ११ डिग्री सेन्टिग्रेड मापन गरिएको छ । राति पनि शीतलहर चलेका कारण चिसो बढी महसुस हुने गरेको छ ।