१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रधानमन्त्री बन्न अन्तर्वार्ता दिइनँ

नेपालब्रिटेन संवाददाता
५ पुष २०७५, बिहीबार ११:३०

हरिप्रिया पाण्डे, पूर्व केन्द्रीय सदस्य, नेपाल महिला संघ

विद्यार्थी राजनीतिमा लोकप्रिय हरिप्रिया पाण्डेलाई यतिबेला नेपाली कांग्रेस बिगे्रकोमा चिन्तित छन् । जिम्मेवारी खोज्दै कहिले नेताकहाँ नधाएको बताउने पाण्डे अहिले सामाजिक काममा त्यत्तिनै सक्रिय छन् । विशेषतः उनी सरसफाइ र जेष्ठ नागरिकको क्षेत्रमा काम गर्न हौसिएकी छन् । विद्यार्थी जीवनमा धेरै चर्चा कमाएकी पाण्डे, अहिले राजनीतिमा खासै सक्रिय देखिँदैनन । पछिल्लो समय उनमा के कुरा कमी भयो र निस्कृय भइन भन्ने विषयमा पाण्डेसँग गरेको कुराकानी–

० कांग्रेस राजनीतिबाट बाहिरिनु भएको हो ?
– होइन, आफ्नो ठाउँबाट सकेको सहयोग पार्टीलाई गरिरहेकै छु, काम गर्न पद चाहिन्छ भन्ने मान्यता मेरो होइन । नेताको घर धाउँदिन, त्यसैले मलाई जिम्मेवारी दिँदैनन, त्यही भएर कांग्रेस मूलधारको राजनीतिबाट ओझेलमा परेजस्तो देखिएको होला ।

० पार्टीको कुन तहसम्म पुग्नुभयो ?
– नेपाल महिला संघको पूर्व केन्द्रीय सदस्य हुँ, विद्यार्थी राजनीतिमा थिएँ, पद्मकन्या क्याम्पसमा इकाइ सभापति र स्ववियु सचिवको जिम्मेवारी सम्हाले । त्यसपछि महिला संघमा आएकी हुँ ।

० कहाँबाट पद्मकन्या पढ्न आइपुग्नुभयो ?
– हामी तनहुँका हौं, यद्यपि गोरखामा एसएलसीसम्म अध्ययन गरें । त्यसपछि उच्च शिक्षा लिन काठमाडौं आएकी हुँ ।

० पढ्न काठमाडौं पठाउने वातावरण थियो ?
– पण्डितकी छोरी हुँ, एसएलसीमाथि घरबाट नपढाउने कुरा चलिरहेको थियो । दाजुले गर्दा कलेज पढ्ने अवसर पाएँ ।

० पढाइ कस्तो थियो ?
– एसएलसी प्रथम श्रेणीमा उत्तिर्ण गरे, दाजुले पनि विज्ञान लिएर पढेका थिए, म पनि विज्ञान विषय अध्ययन गर्न कलेज भर्ना भएँ, तर फेल भएँ । त्यसपछि राजनीतिशास्त्र लिएर अध्ययन अघि बढाएँ ।

० कांगे्रस कसरी बन्नुभयो ?
– म मामा घरमा हुर्किएँ । मामा नलराज थपलिया कांग्रेसका नेता हुनुहुन्थ्यो । उहाँकै संगतले विद्यार्थी जीवनबाटै कांग्रेस राजनीतिमा होमिएँ ।

० स्कुलका ती दिन ?
– पढाइमा अब्बल थिएँ, अहिलेका नेकपाका नेता नारायणकाजीले पनि पढाउँथे, त्यसबेला उनलाई स्वास्थ्यसहायक भन्थे ।

० कलेजका ती दिन ?
– शैलजा दिदीलाई चिनेकी थिएँ । सम शाही थिइन्, कमला पन्तलगायतका थियौं । अध्ययनसँगसँगै अन्य गतिविधिमा सक्रिय थिएँ । होस्टलमा बसेर पढियो, होस्टलमा बसे पनि नजिकै कोठा पनि लिएकी थिएँ । त्यहाँ नेविसंघका नेताहरु बस्थे, छलफल गर्थे ।

० खर्च घरबाटै आउँथ्यो ?
– दाजुले दिनुहुन्थ्यो, विशेषतः म खर्चालु थिइँन, वचत भएको पैसा पनि साथीभाइलाई खर्च गर्थे । त्यस्तो लोभलालच पनि ममा थिएन ।

० समकालीन साथीभाइ के भए ?
– समले उपमेयरको टिकट आश गरेकी थिइन, तर पाइनन । पछि उनले प्राकृति उपचार पद्धति खोलिन्, जुन निक्कै लोकप्रिय भयो । अहिले पनि उनी त्यही विधामा छिन् ।

० डिग्री पनि पद्मकन्याबाटै लिनुभएको हो ?
– होइन, टियु पढें, त्यहाँ होस्टल लठिपत्र थियो, व्यवस्थित गरें ।

० लठिपत्र भनेको ?
– रातो वा सेतो डोली नचढेसम्म होस्टल नछाड्ने प्रवृत्ति थियो । ३ रुपैयाँ ७–८ हजारले तिरेर पक्कुसँग भात खान्थे, त्यही पनि मीठो भएन भन्दै थाल लात्तीले फाल्थे । कुक नै २८ जना थिए । त्यस्तो बेथितिलाई नियन्त्रण गरियो । यसैको परिणामस्वरुप स्ववियु निर्वाचनमा मलाई हराइयो ।

० पढाइ सकेपछि के गर्नुभयो ?
– ०५४ मा डिग्री सकियो, राजनीतिमा नै सक्रिय थिएँ । त्यसलगायत दिव्य ज्ञान भन्ने धार्मिक पत्रिका चलाउँथे । नेविसंघको केन्द्रीय सदस्य थिएँ, तरुण दलमा प्रशिक्षक भएँ । महिला संघको निर्वाचन कमिटीमा बसेर काम गरे । विभिन्न जिल्लामा चुनाव गराइयो ।

० जागीर खाने सोच आएन ?
– एकपटक राष्ट्र बैंकमा नाम निकालेकी थिएँ । प्रधानमन्त्री बन्ने मान्छे कहाँ खरदारको जागीर खाने भनेर साथीहरुले भनेपछि अन्तर्वार्ता दिन गइन । त्यसपछि निरन्तर समाजसेवामा जुटी रहे ।

० कस्तो समाजसेवामा संलग्न हुनुभयो ?
– विशेष गरी महिलाका इस्यु र शिक्षाको क्षेत्रमा काम गरें । घरेलु हिंसाविरुद्ध सचेतनामा धेरै काम गरियो । जिल्लामा राम्रा विद्यार्थीलाई काठमाडौं ल्याएर पढाउने काम गरियो । जस्तो रामकुमारी झाक्री । अखिलकै भए पनि त्यसबेला सानी, राम्रो बोल्ने रामकुमारीलाई काठमाडौं बोलाएर कलेज भर्ना गर्दिएँकी हुँ ।

० गैरसरकारी संस्था सञ्चालन गर्नुभएन ?
– महिला सुरक्षा दबाब समूह सञ्चालन गरेका थियौं । त्यसबेला हामीले धेरै काम गरेका थियौं । विशेष गरेर सरसफाइ र जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने सोच बनाएर अनाम सचेत समूह दर्ता गरेका छौं ।

० के गर्छ यो समूहले ?
– सरसफाइका कार्यक्रम गछौं, त्यसका अलावा हामी जेष्ठ नागरिकलाई एक ठाउँमा भेला पारेर उनीहरुलाई मनोरञ्जन दिने, तीर्थव्रत गराउने काम गराउँछौं । स्वास्थानी पूर्णेदेखि यो कार्यक्रम हामी सञ्चालनमा ल्याउँछौं ।

० राजनीति भनेर हिड्नुभो, पार्टीले के दियो ?
– पार्टीले केही दिन्छ भनेर राजनीति गरेकी थिइँन । एउटा असल नागरिक बन्ने अवसर दियो, त्यसैमा सन्तुष्ट छु । धन कमाउने इच्छा भए व्यपार गर्थे ।

० असल नागरिकलाई पार्टीले जिम्मेवारी दिँदैन ?
– दिने भए पार्टीको यो अवस्था हुँदैन थियो । असल कार्यकर्ता पहिचान गर्ने क्षमता शीर्ष नेतृत्वमा भए कांगे्रसले जनतामा जहिले लोकप्रिय राजनीतिक दल भइरहन्थ्यो ।

० पार्टीप्रति वितृष्णा आयो ?
– वितृष्णा छैन, पार्टी बिगे्रकोमा चिन्ता लागेको छ ।

० मूल्यांकन हुँदो रहेनछ नि ?
– पद्मकन्या क्याम्पसको पछाडिको विल्डिङ म आफै बसेर बनाएकी हुँ, त्यसबेला कमला पन्तहरु नेताकहाँ धाउँथे, म चाहिँ काममा विश्वास गर्थे । मेरो काम देखेर डेनिस दूतावासले प्रोस्टग्राजुयटका लागि अवसर दियो ।

० पार्टीको मूल्यांकन कसरी गर्नुहुन्छ ?
– अहिले विवेकशुन्य नेताहरुको जमात बढी भयो । ओमदेवी मल्लजस्तालाई अवसर दिन्छन्, पार्टीमा योगदान दिनेलाई बिर्सन्छन् ।

० घरमा कतिजनालाई रोजगार दिनुभएको छ ?
– एकजना खाना बनाउने छन्, अरु श्रीमान्ले राज्यबाट प्राप्त गरेका सहयोगीहरु हुन् ।

० वैवाहिक जीवन कसरी चलेको छ ?
– विवाह गर्ने सोच थिएन, बुवाआमा अमेरिका जानुभयो, काठमाडौंमा एक्ली भएन । दाजुहरुले पनि विवाह गर्न आग्रह गर्नुभयो । त्यस्तैमा उमेश मैनालीसँग कुरा चल्यो, सबै कुरा मिल्यो, विवाह गरें । सबै ठीकठाक चलेको छ ।

० कहिलेकाहिँ वादविवाद चल्दैन ?
– बाहिरी कुरा ढोकामा झुन्डाएर घरभित्र पस्छौं । घरभित्र पसेपछि हामी परिवार हुन्छौं । छोराछोरी छन्, माया गर्छन् । मिलेरै बसेका छौं ।

० कहिलेकाहिँ सिफारिस लिएर आउँदैनन ?
– सिफारिस ल्याउँछन्, मबाट तपाईंको काम सम्भव छैन भनेर उहाँहरुलाई चिया खुवाएर पठाउँछु ।