१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएले बोलायो आपतकालीन बैठक

नेपालब्रिटेन डट कम्
६ पुष २०७५, शुक्रबार १३:५३

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन (विषेश) बैठक बोलाएको छ । संघले १२ जनवरीमा एनआरएनए सचिवालयमा फेस–टु–फेस बैठक बोलाएको हो । बैठकमा संघको आगामी महाधिवेशन, गैरआवासीय नेपाली संघको ऐन संशोधन, एनआरएनले प्राप्त गर्ने नागरिकता, लाप्राक परियोजना र सचिवालय भवनलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

अध्यक्ष भवन भट्टको पहलमा हुन लागेको बैठकमा संघका सल्लाहकार र संरक्षकसमेतको उपस्थित रहने बताइएको छ । पछिल्लो समयमा संघको केन्द्रीय कार्यालय प्रमुख नियुक्तिको विषयमा विवाद छ । जनवरी १२ मा हुने उक्त बैठकले त्यो विवाद पनि निधान गर्ने बताइएको छ ।

संघको केन्द्रीय कार्यालय प्रमुखमा हाल डा. हेमन्त दवाडी र राजेश राणाको विवाद यथावत छ । संघले दवाडीलाई एक पद बढुवा गर्दै राणालाई दोस्रो मर्यादाक्रममा राखेको थियो । दवाडी र राणाले मासिक १ लाख ६१ हजार खादैं पारिश्रमिक लिइँदै आएका छन् । उनीहरुको विवादका कारण संघको सचिवालय नेतृत्व विहीनजस्तै मात्र छैन, संघलाई दोहोरो आर्थिकभार परेको छ । यो विषयलाई लिएर विभिन्न राष्ट्रिय समितिले समेत असन्तुष्टि जनाएका छन् ।

स्रोतका अनुसार संघको निमार्णाधीन गोर्खाको लाप्राक परियोजनामा समेत रकमको ठूलो हिनामिना भएको आशंका गरिएको छ । यस्तै एनआरएनए ग्लोबल परिचयपत्र छपाइ अनियमितामा समेत संघकै पदाधिकारी संलग्नता रहेको स्रोतको दाबी छ ।

स्रोतले भन्यो, ‘अध्यक्षलाई आन्तरिक विषयमा धेरै थाहा हुँदैन, संघकै केही पदाधिकारी कोषको रकम सिध्याउन सक्रिय छन् ।’ ‘धेरैजसो व्यक्तिगत फाइदामा लागेका छन्, कर्मचारी व्यक्तिपिच्छे चाकरी बजाउँछन, काम गर्दैनन्’, एक एनआरएनको टिप्पणी थियो ।