१२ बैशाख २०८१, बुधबार
Follow Us

लन्डन बिमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ

नेपालब्रिटेन संवाददाता
८ पुष २०७५, आईतवार १०:२१

बेलायत । बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक बिमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इसाईहरुको ठूलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका लाखौं यात्रु ड्रोनका कारण बिमानस्थल बन्द गरिएपछि बिमानस्थलमै अलपत्र परेका थिए ।

ग्याटविक बिमानस्थल तीन दिनसम्म बन्द भएका कारण झण्डै एक लाख २० हजार यात्रु अलपत्र परेका थिए । बुधबार बेलायतको दोस्रो सबैभन्दा व्यस्त क्याटविक बिमानस्थलको आकाशमा ड्रोनहरु देखा परेका थिए । प्रहरीले उक्त घटनालाई आपराधिक कार्य भन्दै ड्रोन उडाउने व्यक्तिको खोजी तिब्र बनाएको थियो ।

प्रहरी अधिकृत जेम्स कोलिसले ड्रोनको आपराधिक प्रयोगको अभियोगमा दुई व्यक्तिलाई ससेक्स प्रहरीले पक्राउ गरेको जानकारी दिनुभयो । आगामी दिनमा पनि थप ड्रोन आक्रमणका घटना हुनसक्ने भन्दै प्रहरीले सूचना प्राप्त गर्न सबै विकल्पहरु खुला राखेको उहाँले बताउनुभयो ।

प्रहरीले लन्डनको दक्षिणतर्फ कुनै ड्रोन उडेको देखिए खबर गर्न आम सर्वसाधारणलाई अनुरोध पनि गरेको छ । शुक्रबार बिमानस्थल खुला गरिए पनि अर्को ड्रोन देखिएसँगै केही समय बिमानस्थल पुनः बन्द गरिएको थियो । ससेक्स प्रहरीले रहस्यमयी ड्रोन सञ्चालकको खोजी गर्न प्रहरी अधिकारीहरुले विभिन्न उपाय अबलम्बन गरिसकेको जनाएको छ । तिब्र गतिमा हुने बिमानमा ड्रोन ठोक्किए त्यसले अकल्पनीय क्षति पुग्न सक्दछ ।

अधिकारीहरुले छुट्टी मनाउने सिलसिलामा बिमान सेवा प्रयोग गर्ने यात्रुहरुलाई बिमानस्थल जानुअघि हवाई सेवाको पछिल्लो अवस्था बुझ्न आग्रह गरेका छन् । ग्याटविक बिमानस्थलका प्रवक्ताले शुक्रबार बिहानका लागि निर्धारित ४१२ वटा बिमान आगमनमध्ये ९१ वटा रद्द गरिएको तथा ३७१ मध्ये ६४ वटा प्रस्थान उडान रद्द गरिएको जानकारी दिनुभयो ।

बिहीबार ड्रोनका खतरा रोक्न सेनाको समेत सहयोग लिइएको थियो । रक्षा मन्त्रालयले ड्रोन पत्ता लगाउने विशिष्ट उपकरण सहितको सैनिक टोली परिचालन गरिएको जनाएको छ । ग्याटविक बिमानस्थलको समस्याका बारेमा सरकारी अधिकारीहरुको आपतकालीन बैठक समेत बसेको छ ।
बेलायको कानुन अनुसार ड्रोनहरु बिमानहरुको नजिक वा बिमानस्थलको एक किलोमिटरभित्र वा ४०० फिटभन्दा माथि उडाउन पाइन्न । कानुनको उल्लङ्घन गर्नेमाथि पाँच वर्षसम्मको जेल सजाय हुन सक्दछ ।