६ बैशाख २०८१, बिहीबार
Follow Us

एशिया प्यासिफिक सम्मेलनको कुरा उठेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

नेपालब्रिटेन संवाददाता
८ पुष २०७५, आईतवार १३:५०

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आजको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण आज अपराह्न ४:३० बजे बोलाइएको बैठक स्थगन भएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । अर्का बैठक पुस ११ गते बस्ने उहाँले जानकारी दिनुभयो । प्रतिवेदनमाथि उठेका प्रश्नको विषयमा आज अपराह्न बोलाइएको बैठकमा अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम थियो ।

“सबै सदस्य पार्टी कार्यालय आइसक्नु भएको थियो, अध्यक्ष ओलीको समय अभावले अन्तिममा स्थगन गरियो, अब अर्का बैठक यही पुस ११ गते बिहान ८ बजेका लागि बोलाइएको छ”, श्रेष्ठले भन्नुभयो । अध्यक्ष ओली आज सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुनुभएकाले बैठकमा उपस्थित हुन सक्नु भएन । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज बिहान बसेको बैठकमा नेता प्रदीप ज्ञवालीले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि आफ्नो भनाइ राखेपछि प्रतिवेदनमाथिको छलफल सकिएको थियो ।

नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बिहानको बैठकमा विशेष समय लिएर वरिष्ठ नेता माधवकुमार नेपालले एशिया प्यासिफिक सम्मेलनका विषयमा आफ्ना भनाइ राख्नुभएको थियो । उहाँले सम्मेलन कुनै धर्म प्रचारका लागि नभई नेपालको हितमा रहेको बताउनुभएको थियो । प्यासिफिक सम्मेलनमा सहभागी भएको भनेर केही नेताले जारी बैठकमा आलोचना गरेका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत बिहानको बैठकमा प्रतिवेदनबाहेकका विषयमा केही भनाइ राख्नुभएको श्रेष्ठले जानकारी दिनुभयो ।

गएको मङ्सिर २९ गतेदेखि अध्यक्षद्वयको संयुक्त राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । जारी बैठकमा बोल्ने क्रममा कतिपय स्थायी कमिटीका सदस्यले पार्टी एकीकरणले पूर्णता पाउन नसकेको, सरकराले जनअपेक्षाअनुसार काम गर्न नसकेको लगायतका विषयमा आलोचना गरेका थिए । उठेका सवालमा पुस ११ गते अध्यक्षद्वयको जवाफ आएपछि राजनीतिक प्रतिवेदन पारित हुने या परिमार्जन गर्ने भन्ने विषय निक्र्यौल हुने जनाइएको छ ।