१६ चैत्र २०८०, शुक्रबार
Follow Us

निराशाको झोला बोकेर कांग्रेस महासमिति सदस्यहरु जिल्ला फिर्ता

नेपालब्रिटेन संवाददाता
९ पुष २०७५, सोमबार १३:०१

काठमाडौं । नेपाली काग्रेस नेतृत्वले सहमतिका नाममा आफूहरुको माग लत्याएको भन्दै महासमिति सदस्यहरुले असन्तुष्टि जनाएका छन् । नयाँ उत्साह र ऊर्जाका साथ जिल्ला फर्कने अभिलासा बाकेका महासमिति सदस्यहरु गुनासाको पोको बोकेर फर्कन बाध्य भएका छन् । महासमिति बैठकको समापन समारोहमा कांग्रेसका शीर्ष नेताहरुले पार्टी एक भएको भन्दै आगामी निर्वाचनको तयारीमा जुटेको उद्घोष त गरे तर, तल्लो तहको नेतृत्वमा रहेका महासमिति सदस्यहरु भने नेताहरुको बोलीमा खासै विश्वास गरिरहेका छैनन् ।

आफूहरुको मुख्य माग नै सम्बोधन नगरी सहमतिका नाममा विधान पारित गरिएकोप्रति उनीहरुको गुनासो याथावत् छ । नेता मिलेरमात्र हुँदैन, संगठन बलियो हुनेगरी पद्दतिको पनि विकास गर्नुपर्छ भन्ने भनाइ महासमिति सदस्यहरुले राख्दै आएका छन् । बहुसंख्यक सदस्यहरुले सबै महाधिवेशन प्रतिनिधि बुथ तहबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था विधानमा गर्न भनेका थिए ।

त्यस्तै, समानुपातिक अवसर एकै व्यक्तिले पटक–पटक पाउन नहुने व्यवस्था विधानमा नै गर्नुपर्ने माग उनीहरुले राखेका थिए । यी दुवै विषय विधान संशोधनमा परेनन् । महासमिति सदस्यहरु यो विषयलाई उठाइरहने पक्षमा छन् । आगामी महाधिवेशनसम्म यो व्यवस्था विधानमा राख्न दबाब जारी रहने बताउँछन्, महासमिति सदस्यहरु ।

केन्द्रीय नेतृत्वको चाकरी गरेर उसकै वरिपरि घुम्ने र गाउँमा संगठन गर्न नजाने अनि अवसर पाइरहने प्रवृत्ति बढेकाले यो व्यवस्था विधानमा गर्न माग गरेको उनीहरुको भनाइ छ । केन्द्रीय समितिमै पनि केही सदस्यहरुले सबै तल्लो तहबाटै चुनिएर आउने व्यवस्था गर्नुपर्ने बताएका थिए । तर, त्यो विषय नेतृत्वले सुनेन र निवर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था पारित भयो ।

केही केन्द्रीय सदस्य हारको डरलेमात्र यो व्यवस्थाको खिलापमा नलागेको बताउँछन् । कोही त यो व्यवस्था हटाउन लागिपरिरहनेसमेत बताउँछन् । असन्तुष्टिकाबीच पनि नेताहरुले समापन समारोहमा देखाएको व्यवहारबाट भने महासमिति सदस्य खुसी देखिएका छन् । कांग्रेस महासमिति बैठक एक प्रकारको अन्योल र अनिश्चितताकैबीच सकिएको छ । संगठनको आन्तरिक जीवनमा महासमितिले केही प्रभाव छाडेपनि आमनागरिकका लागि प्रमुख प्रतिपक्षीको हैसियतमा जे सन्देश दिनुपर्ने थियो, त्यसबाट भने कांग्रेस पक्कै चुकेको छ ।