१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चाबहिल मालपोतका प्रमुखसहित १६ जनाविरुद्ध मुद्दा दायर

नेपालब्रिटेन संवाददाता
९ पुष २०७५, सोमबार १३:०५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजनाको नाममा रहेको जग्गा अर्कैको नाममा पास गरिदिएको आरोपमा काठमाडौंको चाबहिलस्थित मालपोत कार्यालयका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुबाट ६० करोड रुपैयाँ बिगो दाबी भराउन मागसमेत गरेको छ ।

साविक विष्णु गाविस वडा नम्बर–७, हाल काठमाडौं बूढानीलकन्ठ नगरपालिकास्थित चन्दनकृष्ण कायस्थको नाममा रहेको कित्ता नम्बर ३२३, ३२५ र ३२९ को दुई रोपनी ८ आना जग्गा नक्कली लालपुर्जा र नक्कली नै जग्गाधनी खडा गरी पास गरिदिएको पुष्टि भएपछि अख्तियारले चाबहिल मालपोत कार्यालयका प्रमुखसहितका कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकाहरुमा कार्यालय प्रमुख एवं मालपोत अधिकृत कमलप्रसाद तिमल्सिना, मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, मालपोत अधिकृत रामप्रसाद सुवेदी, नायबसुब्बा रन्जनकुमार खरेल, नायबसुब्बा (टाइपिस्ट) जमुनाकुमारी श्रेष्ठ, कार्यालय सहयोगी हरि खड्का, चन्दनकृष्ण कायस्थ भनिने राजु थापामगर रहेका छन् ।

यस्तै, सानुभाइ भनिने सानेभाइ श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भूपाल मोक्तान भनिने भूपालसिंह तामाङ, ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, अर्थ कवच बचत तथा ऋण सहकारी संस्था सुन्धाराका निर्देशक नवदुर्गाप्रसाद ढुंगेल र प्रबन्ध निर्देशक सुरेशकुमार थापा तथा सानिमा बैंक एकान्तकुना ललितपुरका ट्रेलर सनिश सापकोटाविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मालपोत कार्यालयका कर्मचारीबाहेक अन्य सबैसँग ६/६ करोड रुपैयाँ बिगो माग गरिएको पनि अख्तियारले जनाएको छ ।